• ४ कात्तिक २०८२, मङ्गलबार

९५ वर्षीया वृद्धा सात दिनदेखि बेपत्ता

blog

बेपत्ता हुनुभएको ९५ वर्षीय स्यानीमाया खत्री ।

ठाकुरप्रसाद आचार्य 

म्याग्दी,कात्तिक ४ गते । म्याग्दीको बेनी नगरपालिका–६, जामुनाखर्ककी ९५ वर्षीया स्यानीमाया खत्री सात दिनदेखि बेपत्ता हुनु भएको छ । आफन्त, स्थानीयवासी र प्रहरीले खोजी गर्दा पनि खत्रीको अवस्था पत्ता लाग्न सकेको छैन ।   

गत असोज २९ गते दिउँसो करिब ३ बजेदेखि खत्री घरबाट हराउनु भएको थियो । खत्रीको खोजी कार्यमा जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट तालिमप्राप्त कुकुरको प्रयोग गरेर खोजी गरे पनि पत्ता लगाउन कठिन भएको हो ।  

आफन्त र छिमेकीले बेपत्ता भएको दिनदेखि वृद्धाको खोजी गरे पनि फेला नपरेपछि  जिल्ला प्रहरी कार्यालय म्याग्दीले गण्डकी प्रदेश कार्यालय पोखराबाट तालिमप्राप्त कुकुर ल्याएर खोजी गरेको थियो । 

पोखराबाट आएको कुकुरसहितको प्रहरीको विज्ञ टोलीले सम्भावित क्षेत्रमा खोजी गरे पनि अवस्था पत्ता लगाउन कठिन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिनुभयो । 

राम्रोसँग हिडन् नसक्ने वृद्धा खत्रीको खोजी कार्यमा सहयोग गर्न आफन्त र प्रहरीले सबैमा अनुरोध गरेको छ ।