• ४ कात्तिक २०८२, मङ्गलबार

पोखरा-मुग्लिन सडक पश्चिम खण्ड

६२ प्रतिशत काम, अझै हटेन व्यवधान

blog

पोखराको चाइना पुलमा अहिलेको पुलको तल र माथि दुईतिर बन्दै गरेका दुई सिग्नेचर पुल । तस्बिरः फडिन्द्र अधिकारी

फडिन्द्र अधिकारी

लेखनाथ, कात्तिक ४ गते । पाँच दशकअघि निर्माण भएको पृथ्वी राजमार्ग अहिले स्तरोन्नति गरिँदै छ । पर्यटन राजधानी पोखरालाई राजधानी काठमाडौं र पूर्वी नेपालसँग जोड्ने यो राजमार्गको काममा भएको ढिलाइले सर्वसाधारणसहित पर्यटक र यो क्षेत्रको अर्थतन्त्रमै असर पुर्याएकाे छ । 

दुई पटक थप भएको म्याद सकिन डेढ महिना बाँकी हुँदा पश्चिम खण्डको भौतिक प्रगति ६२ प्रतिशत पुगेको छ ।

राजमार्गको आँबुखैरेनीदेखि पोखरासम्मको ८० किमी सडक विस्तार तथा स्तरोन्नति पूर्वी र पश्चिम गरी दुई खण्डमा गरिँदै छ । पश्चिम खण्डको म्याद ३१ डिसेम्बर २०२५ सम्म छ । २०७८ जेठमा ठेक्का सम्झौता भए पनि काम तीन महिनापछि मात्र चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले सुरु गरेको थियो । यसको लागत सात अर्ब ४० करोड ४६ लाख छ।

पछिल्लो समय निर्माण कम्पनीले कामलाई गति दिएको भए पनि केही व्यवधान बाँकी छन् । पोखरा–मुग्लिन सडक आयोजनाका इन्जिनियर अनन्त बराल कास्की खण्डमा अझै केही घर, टहरा हटाउन र बिजुलीका पोलहरु सार्न बाँकी रहेको बताउनुुहुन्छ । सडक विस्तारका लागि अझै विजयपुर भिमाद क्षेत्रका ३८ बिजुलीका पोल हटाउन बाँकी छ ।

इन्जिनियर बराल भन्नुहुन्छ, “सेती आसपासको क्षेत्रमा १४ वटा, अन्तर्राष्ट्रिय विमानस्थलका ४९ वटा र एयरपोर्टदेखि कुँडहर क्षेत्रमा ५४ पोल हटाउन बाँकी छ ।” यो क्षेत्रमा रहेका दुई ट्रान्सफर्मरसमेत सडक विस्तारका लागि स्थानान्तरण गर्न बाँकी छन् । तनहुँको कोत्रेदेखि पोखराको पृथ्वीचोकसम्मको क्षेत्रमा दुई सय सात वटा संरचना हटाउने निर्णय भएकोमा केही अझै हटाइएका छैनन् । 

पछिल्लो क्रममा मुआब्जा लिन जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरे पनि केही जग्गाधनी अझै नभएको बरालले उल्लेख गर्नुभयो । पछिल्लो समय निर्माण कम्पनीले तदारुकताका साथ काम गरेको देखिएकाले यो आर्थिक वर्षभित्र सडक स्तरोन्नति सकिने अपेक्षा गरिएको छ ।

पश्चिम खण्डमा १३ पुल रहेकोमा ११ पुल निर्माण भइसकेका छन् । पश्चिम खण्डकै ठेक्कामा रहेको विजयपुरको पुल धमाधम निर्माण भइरहेको छ । यो पुल गडर राख्ने प्रक्रियामा पुगेको इन्जिनियर बरालले उल्लेख गर्नुभयो । 

“बाहिर बनाएको गडर क्रेनले राख्ने हो । त्यसका लागि चाहिने क्रेन भारतबाट मगाइएको छ,” उहाँले भन्नुभयो, “गडर राखेपछि स्ल्याब ढलान हुन्छ । त्यसको १२-१५ दिनमै यसबाट गाडी चल्न सक्छन् ।” यो सडकको चाइनपुलमा सेतीनदीमाथि अहिलेको पुलको तल र माथि दुई÷दुई लेनका सिग्नेचर पुल बन्दै छन् । छुट्टै ठेक्का लगाइएको यो पुलको म्याद गएको भदौमा सकिएकोमा बैशाखसम्म थपिएको छ । 

एक सय ९० मिटर लामा यी पुलमा अहिलेसम्म आधामात्रै काम सकिएको छ । २०७९ साउनमा रसुवा कन्स्ट्रक्सनले भ्याटबाहेक ९४ करोडमा यसको ठेक्का पाएको थियो । पश्चिम खण्ड अन्तर्गत पोखरा, दुलेगौंडासहित मुख्य बजारी क्षेत्रमा सडक ४६ मिटर र जामुनेदेखि कुम्ले खोलासम्म १८ मिटरको बन्दै छन् । बाँकी सडक २३ मिटर चौडा हुने छन् । 

पूर्वी खण्डको मादी पुलमात्र बाँकी

आयोजनाअन्तर्गत पूर्वी खण्डमा मादी नदीको पुल र बाटोको फिनिसिङका काममात्र बाँकी छन् । असोज मसान्तसम्मको विवरण अनुसार यो खण्डको भौतिक प्रगति ८६ प्रतिशत छ । आयोजनाका इन्जिनियर विष्णुप्रसाद पाण्डेले पूर्वी खण्डको काम सकिने क्रममा रहेको उल्लेख गर्नुभयो ।

“यो खण्डको कालोपत्र लगभग सकिएको छ । फिनिसिङ चरणका केही काम बाँकी छन् । छिटपुट काम र रङरोगन जारी छ,” उहाँले भन्नुभयो, “डेढ वर्षसम्मको मर्मतसम्भारको हिसाब गर्दा ८७ प्रतिशत प्रगति देखिएको हो, निर्माणको काम लगभग सकिएकै छ ।”

यो खण्डको मादी नदीको पुल भने अलग्गै ठेक्कामा लगाइएको छ । मादीको सिग्नेचर पुलको प्रगति ७२ प्रतिशत छ । पुलको ठेक्काको अवधि गएको असार १९ सम्म रहेकोमा म्याद थपको चरणमा छ भने बाटोका लागि म्याद थप जरुरी नहुने पाण्डेले उल्लेख गर्नुभयो । 

पूर्वी खण्ड ४१.४५ किमी छ । यो खण्डमा बन्ने १७ पुल बनिसकेका छन् । यो खण्डमा २०७८ वैशाखदेखि चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले काम सुरु गरेको थियो । कम्पनीले छ अर्ब २१ करोड ३१ लाखमा यो खण्डको ठेक्का पाएको हो ।