काठमाडौँ, कात्तिक ४ गते । उपसभामुख इन्दिरा रानाले दिपावली र नेपाल सम्वत् जस्ता पर्वले नेपाली समाजमा आपसी मेलमिलाप, भातृत्व, सहिष्णुता र एकताको भावना सुदृढ पारिरहेको बताउनुभएको छ ।
उहाँले नेपालीहरूको महान पर्व शुभ दीपावली २०८२ तथा नेपाल संवत् ११४६ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुरक्षा, आपसी सद्भाव र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको हो ।
उहाले भन्नुभएको छ, “घर घरमा दीपावली गरी हर्षोल्लासका साथ मनाइने दीपावली हिन्दू धर्मावलम्बी नेपालीको दसैँपछिको प्रमुख पर्व हो, यस पर्वमा दिदीबहिनीहरूले दाजुभाइलाई सप्तरङ्गी टीका र कहिल्यै नओइलाउने मखमली, सयपत्री फूलका माला लगाइदिएर दीर्घायु, सौभाग्य र समृद्धिको कामना गर्दछन् ।”
दीप बालेर उज्यालो र आशाको प्रतीकको रूपमा मनाइने तिहार पर्व पारिवारिक मिलन, सामाजिक सद्भाव तथा सांस्कृतिक एकताको पर्व भएको उहाँको भनाइ छ । यसले सबैलाई प्रेम, करुणा र सहयोगको भावनामा जोड्ने पनि उहाको विस्वास छ ।
शुभकामना सन्देशमा भनिएको छ, “त्यसैगरी राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल सम्वत् हाम्रो मौलिक र गौरवमय राष्ट्रिय सम्वत् हो, लिच्छवीकालीन राजा राघवदेवको समयमा गरीब जनतालाई ऋणमुक्त गरी शङ्खधर साख्वाले सुरु गरेको यो सम्वत् आज नेपाली इतिहास, संस्कृति र राष्ट्रिय पहिचानको प्रतिकका रूपमा स्थापित छ ।”
विशेषगरी काठमाडौँ, ललितपुर, भक्तपुरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा यो पर्व अत्यन्त उत्साहका साथ मनाइन्छ । बहुभाषिक, बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त हाम्रो नेपालमा सबै धर्म, संस्कार र संस्कृतिको सम्मान गर्दै एकताको भावनामा बाँधिने परम्परागत चाडपर्वले अझ प्रगाढ बनाइरहेको उपसभामुख रानाको भनाइ छ ।
उहाँले भन्नुभएको छ, “यो शुभ दीपावली र नेपाल सम्वत् ११४६ ले देशमा आपसी सद्भाव, एकता, सुरक्षा तथा अमनचयन ल्याओस, राजनीतिक स्थिरता र आर्थिक समृद्धिको गराओस निराशा एवं अन्धकारलाई हटाइ हरेक नेपालीको जीवनमा उज्यालोपन, खुसी र आशा भरियोस्, देशमा शान्ति, सुशासन र विकासको उज्यालो फैलियोस् र सबै नेपाली एकताबद्ध भई समुन्नत र समावेशी नेपाल निर्माणको अभियानमा अघि बढ्न प्रेरित बनोस् ।” रासस