प्रवीणकुमार शर्मा
रौतहट, कात्तिक ४ गते । रौतहटमा लागुऔषधसहित एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा म्याग्दी बेनी फुलचौर नगरपालिका–९ का ६० वर्षीया दिलमाया विक रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
सोमबार अपराह्न ४ बजे गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको ना. ५ ख. ५०६३ नं. को यात्रु बाहक बसलाई गौर चपुर सडक खण्डअन्तर्गत यमुनामाई गाउँपालिका–५, बमनहरमा प्रहरीले चेकजाँच गर्ने क्रममा दिलमाया लागु औषधसहित पक्राउ परेकी हुन् ।
उनका साथबाट प्रहरीले फेनागन ४९८ पिस डाइजोपान, ४९१ पिस, नूफिन चार सय पिस र बुप्रेनोर्फिन सय पिस गरी कुल एक हजार ४८९ पिस लागु औषध फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिनुभयो ।
लागु औषधसहित विकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भई रहेको प्रवक्ता कार्कीले बताउनुभयो ।