बागमती, कात्तिक ४ गते । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा बागमती प्रदेश सरकारले कुल बजेटको करिब छ दशमलव १९ प्रतिशतमात्र खर्च गरेको छ ।
प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलका अनुसार चालु आव २०८२/८३ को साउनदेखि असोजसम्ममा तीन महिनामा कुल बजेटको छ दशमलव १९ प्रतिशत अर्थात चार अर्ब १७ करोड ९१ लाख २६ हजार बजेट खर्च भएको छ ।
चालु आवका लागि प्रदेश सरकारले ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजारको बजेट ल्याएकामा साउनदेखि असोजसम्ममा चार अर्ब १७ करोड ९१ लाख २६ हजार बजेट खर्च भएको उहाँले बताउनुभयो । बजेटमध्ये चालुको तुलनामा पुँजीगततर्फको बजेट कम खर्च भएको उहाँको भनाइ छ ।
विनियोजित बजेटमध्ये सबैभन्दा बढी प्रदेश लोकसेवा आयोगले १९ दशमलव ५५ प्रतिशत, प्रदेशसभा सचिवालयले १७ दशमलव १९ प्रतिशत र मुख्य न्यायाधिवक्ताको कार्यालयले १५ दशमलव ३१ प्रतिशत बजेट खर्च गरेको छभने सबैभन्दा कम संस्कृति तथा पर्यटन मन्त्रालयले शून्य दशमलव ८० प्रतिशत बजेट खर्च गरेको मन्त्रालयले जनाएको छ ।
गत भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनीका कारण प्रदेश सरकारका संरचना क्षतिग्रस्त भएको, प्रदेश सरकारका निकायले राम्ररी काम गर्न नसकेको र बजेट कार्यान्वय हुन नसक्दा प्रदेश सरकारको खर्च कम देखिएको सूचना अधिकारी पौडेलले बताउनुभयो । रासस