रमेश विश्वकर्मा
गुल्मी, कात्तिक ४ गते । गुल्मीमा उत्साहजनक रुपमा मतदाता नामावलीमा नाम दर्ताको कार्य अगाडि बढेको पाइएको छ । सरकारले आगामी फागुन २१ गते निर्वाचनको मिति घोषणा गरेसँगै जिल्लामा पनि उत्साहकजनक रुपमा मतदाता नामावलीमा नाम दर्ता गराउन थालेको पाइएको हो ।
निर्वाचन आयोगको गत असोज ९ गतको निर्णयअनुसार असोज १० गतेबाट मतदाता नामावली दर्ता कार्य सुरु भएको हो । यस जिल्लामा हालसम्म एक हजार ६६ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ।हालसम्म पुरुष ५९३ र महिला ४५३ जनाले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका छन् ।
नाम दर्ता गराएकामध्ये एक हजार ४६ जना जिल्लामै भोट हाल्ने छन् भने २० जनाले जिल्ला बाहिर भोट हाल्ने भएका छन् । यस जिल्लामा तीव्र रुपमा मतदाता नामावलीमा नाम दर्ताको कार्य भइरहेको निर्वाचन कार्यालय गुल्मीका प्रमुख ऋषि घिमिरेले बताउनभयो । अहिले यहाँबाट दैनिक सय जनाको नाम दर्ता भइरहेको छ । निर्वाचन कार्यालयको एउटा स्टेशन जिल्ला प्रशासन कार्यालयमा पनि भएकोले धेरै नागरिक लाभाम्बित भएको बताइएको छ ।
नागरिकता र परिचय पत्र बनाएसँगै प्रशासनबाटै मतदाता नामावलीमा नाम दर्ता गराउने उहाँले बताउनुभयो । अधिकांश मतदाताले आफै मोबाइल वा कम्प्युटरबाट फारम भरेर कार्यालयमा बायोमेट्रिक गर्न हुँदा एकैदिनमा धेरै जनाको नाम दर्ता भएको पाइएको छ । एक जिल्लाको मतदाताले जुनसुकै जिल्लाको निर्वाचन कार्यालयमार्फत पनि मतदाता नामावली दर्ता गराउन सक्ने व्यवस्था छ ।