नौरते नेपाली
सिँजा (जुम्ला), कात्तिक ४ जुम्ला । जुम्लामा सम्बन्ध विच्छेदका घटना बढ्दै गएका छन् । आर्थिक वर्ष २०८०/०८१ मा ६९ वटा सम्बन्ध विच्छेदका उजुरी परेकोमा ४८ वटा फछर्याैट भएको र २१ वटा प्रक्रियामा रहेको जिल्ला अदालत जुम्लाले जनाएको छ । यस्तै, आर्थिक वर्ष २०८१/०८२ मा ७४ वटा सम्बन्ध विच्छेदका उजुरी परेकोमा ४८ वटा फछर्याैट भएको र २६ वटा प्रक्रियामा रहेको तहसिलदार हरिकृष्ण तिमिल्सेनाले जानकारी गराउनुभयो ।
चालु आर्थिक वर्षको हालसम्म ४३ वटा सम्बन्ध विच्छेदका उजुरी परेकोमा १५ वटा फछर्याैट भएको र २८ वटा प्रक्रियामा रहेको उहाँको भनाइ छ । आर्थिक वर्ष २०८०/०८१ मा ६९ वटा सम्बन्ध विच्छेदका उजुरी परेकोमा त्यो सङ्ख्या बढेर आर्थिक वर्ष २०८१/०८२ मा ७४ पुगेको छ । झण्डै ६ वटा उजुरी आर्थिक वर्ष २०८१/०८२ मा बढि परेको जिल्ला अदालत जुम्लाको तथ्याङ्कमा उल्लेख छ ।
गत दुई आर्थिक वर्षको तुलनामा सम्बन्ध विच्छेदका उजुरी ह्वातै बढेको तहसिलदार तिमिल्सेनाले जानकारी गराउनुभयो । नयाँ मुलुकी संहिता लागू भएयता सम्बन्ध विच्छेदका घटनामा वृद्धि भएको तथ्याङ्कले देखाएको छ । नयाँ संहिता अनुसार पुरुषले पनि सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराउन पाउने भएपछि मुद्दाको सङ्ख्या बढ्दै गएको हो । तर, पुरुषभन्दा महिला नै सम्बन्ध विच्छेदका उजुरी लिएर अदालत बढी पुग्ने गरेका छन् ।
अदालतको तथ्याङ्क हेर्ने हो भने प्रत्येक वर्षसम्बन्ध विच्छेदका घटना वृद्धि हुँदै गएका छन् । अदालतमा दैनिक एक दुई जना सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्न आउने गरेको तिमिल्सेनाको भनाइ छ । अदालतमा आएका घटनालाई विश्लेषण गर्दा २० देखि ३५ वर्षका दम्पत्ति बढि छुट्टिने गरेका छन् । कलिलै उमेरमा प्रेम विवाह गर्ने तर त्यसलाई व्यवस्थापन गर्न नसक्दा सम्बन्ध प्रगाढ नहुँदै टुट्ने गरेको छ ।
अधिकांश प्रेम विवाह गरेकाहरू नै सम्बन्ध विच्छेद गर्न आउने गरेको अदालत प्रशासनले जनाएको छ । केटाले बाँड्ने ठुलठुला सपना पूरा नहुँदा समस्या बढीरहेको छ । घरेलु हिंसा र आपसी वादविवादको कारणले सम्बन्ध विच्छेदका घटना बढेको अदालतले जनाएको छ । अहिलेको कानुनमा पुरुषले सहजै अदालत गएर सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्नसक्ने कानुन बनेपछि पुरुषहरू पनि सम्बन्ध विच्छेद उजुरी लिएर अदालत पुग्ने गरेका छन् ।
मुलुकी देवानी संहिता २०७४ को भाग ३ को पारिवारिक कानुनको परिच्छेद ३ ले पति–पत्नीबिच चित्त नबुझे सम्बन्ध विच्छेद गर्न सक्ने व्यवस्था गरेको छ । यो कानुन बनेपछि पति–पत्नीबिच सम्बन्ध विच्छेदको प्रकृया सहज भएकाले सङ्ख्या बढेको हो । महिला आत्मनिर्भरता र कानुनी सचेतना बढेसँगै सम्बन्ध विच्छेदका उजुरीमा महिलाको सङ्ख्या बढ्दै गएको स्थानीय कानुन व्यवसायीहरूको भनाइ छ ।