अमरराज नहर्की
तनहुँ, कात्तिक ४ गते । तनहुँ जिल्ला अदालतले तिहार बिदा पनि नागरिकलाई आवश्यक पर्ने सेवा निरन्तर गर्ने व्यवस्था मिलाएको छ । जेनजी आन्दोलनको क्रममा अदालतमा आगजनीले क्षति पुगेपनि सेवा दिने व्यवस्था मिलाइएको अदालतले सूचना उल्लेख गरेको छ ।
कात्तिक ३ देखि ७ गतेसम्म भाइटिकाको दिनबाहेक अन्य दिनमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ गर्न तथा पक्राउ पूर्जी जारी गर्न, अनुमति प्रदान गर्न बिहान ११ देखि अपराह्न ३ बजेसम्म अदालत खुला रहने तनहुँ अदालतद्धारा जारी सूचनामा उल्लेख गरिएको छ ।
तनहुँ जिल्ला अदालतका स्रेस्तेदार नन्दप्रसाद आचार्यद्वारा हस्ताक्षरित सूचनामा नागरिकलाई तिहार जस्तो पर्वमा पनि आवश्यक पर्ने न्यायिक सेवाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको उल्लेख गरिएको छ ।
अदालतको यो निर्णयले आकस्मिक अवस्थामा पर्न सक्ने सर्वसाधारणलाई सहज हुने जनाइएको छ । यस अघि दसैँ बिदामा पनि अदालत खुला रहेको श्रेस्तेदार आचार्यले जानकारी दिनुभयो ।