घोडाघोडी (कैलाली), कात्तिक ३ गते । कैलालीको टिकापुर नगरपालिका-१ वनगाउँका सीताराम चौधरीको जीवन अहिले फूलले रङ्गीन बनेको छ । आठ वर्षअघि सुरु गरेको सानो प्रयास आज उहाँका लागि मात्र होइन गाउँकै लागि प्रेरणाको स्रोत बनेको छ ।
वि.सं.२०७४ देखि फूलखेती सुरु गर्नु भएका सीतारामको बारीभरि अहिले सयपत्री र मखमली फूल ढकमक्क फुलेका छन् । उहाँ भन्नुहुन्छ, “एक लाख लागतमा फूलखेती सुरु गरेको थिए । पहिलो वर्ष त नतिजा कस्तो आउला भनेर डर लागेको थियो । तर विस्तारै सिक्दै गएँ र अनुभवसँगै आत्मविश्वास बढ्दै गयो । अब यो मेरो पहिचान नै बनेको छ”, उहाँले भन्नुभयो ।
फूलखेतीले सीतारामलाई केवल आम्दानी मात्र दिएको छैन, जिल्लामा फूल व्यवसायीको रूपमा स्थापित समेत बनाएको छ । अहिले सीताराम पुष्प व्यवसाय प्रशिक्षकको रूपमा स्थापित हुनुहुन्छ । तिहारमा विशेष गरी मखमली र सयपत्रीको माग बढी हुने भएकाले बढीजसो यी फूल उत्पादन हुन्छन् । “फूल बिक्री गर्न समस्या छैन, बरु माग धान्न सकिएको छैन”, तिहारका लागि फुलको माला बेच्न सुरु गरिसकेको बताउदै सीतारामले भन्नुभयो, “प्रतिमाला १३० र प्रतिकिलो ६०० को दरले बिक्री गरिरहेका छाँै ।”
सयपत्री र मखमली फुलबाट एउटा याममा ४ लाख बढी आम्दानी हुने गरेको उहाँले बताउनुभयो । एउटा बोटबाट चार वटासम्म माला बनाउन सकिन्छ । आवश्यकता अनुसार फूल उपलब्ध गराउने सीतारामले फूल खेतीबाट मनग्य आम्दानी हुन थालेपछि व्यवसाय बढाउँदै लैजानुभएको छ । उहाँ भन्नुहुन्छ, “धान, गहुँ र तोरी खेती पनि गरेको छु, तर फूलखेतीबाट सोचे जस्तै आम्दानी भइरहेको छ ।”
दश कट्ठा जमिनबाट व्यवसाय सुरु गर्नु भएका सीतारामले अहिले एक बिघा पाँच कट्ठामा फूलखेती गर्दै आउनुभएको छ । सजावटमा प्रयोग हुने कट फ्लावर ( तारबारे, गुलाफ, जोखेडा र गोदावरी) पनि उहाँले लगाउनुभएको छ । फूल उत्पादनदेखि प्याकिङसम्मको तालिम लिनुभएका सीतारामले फूलखेती सँगसँगै माला, बुकी बनाउने, विवाहको गाडी सजाउने, मञ्च सजाउने कार्यका साथै अरूलाई तालिम दिने समेत गर्नुहुन्छ । उहाँको अनुभवमा प्राकृतिक फूल स्थानीय स्तरमै पाउन थालेपछि अहिले कृत्रिम फूलको प्रयोग घट्दै गइरहेको छ ।
फूल लगाउने, गोडमेल गर्ने तथा टिप्नेदेखि माला उन्ने कार्यमा स्थानीयलाई रोजगारसमेत दिने गरेको सीतारामले बताउनुभयो । कैलाली जिल्लाबाहेक बर्दिया, बाँकेलगायतका जिल्लामा समेत उहाँको ‘इन्द्रेणी पुष्पखेती फार्म’बाट फूल बिक्री हुने गरेको छ । सुरुआतमा गाउँलेको प्रतिक्रियाले उहाँलाई हतोत्साहित गरेको थियो । धेरैले सीतारामलाई ‘फूल बेचेर के कमाइ हुन्छ र’ भन्ने गर्दथे । तर समयसँगै उहाँको प्रयासको मूल्य सबैले देखे ।
“अब धेरैले मलाई पछ्याइरहेका छन् । मेरो खेती हेरेर अन्य किसानले पनि फूलखेती सुरु गरेका छन्”, सीताराम भन्नुहुन्छ । उहाँको लक्ष्य अब फूलखेतीलाई अझ व्यावसायिक रूप दिनु हो । तिहारपछि पुष्प व्यवसायी सङ्घ गठन गर्ने योजनामा उहाँ हुनुहुन्छ । अब त यो पेसा केवल आम्दानीका लागि होइन, मेरो पहिचान बनिसकेको छ । टीकापुरमा फूल भन्ने बित्तिक्कै जोकोहीले पनि मलाई सम्झन्छन्”, उहाँले भन्नुभयो, “फूलखेतीले मेरो जीवनलाई रङ्गीन मात्रै बनाएको छैन । आर्थिकरुपमा बलियोसमेत बनाएको छ ।” रासस