• ३ कात्तिक २०८२, सोमबार

दामोदर कुण्डमा अध्ययन केन्द्र बनाइने

blog

उपल्लो मुस्ताङमा रहेको पवित्र तिर्थस्थल दामोकरकुण्ड । दामोदरकुण्डमा चक्रकुण्ड, दूधकुण्ड र तामाकुण्ड गरी ३ वटा जलाशय रहेको छ ।

हरिकृष्ण शर्मा

मुक्तिनाथ (मुस्ताङ), कात्तिक ३ गते । उपल्लो मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको वडा ४ मा रहेको पवित्र तिर्थस्थल दामोकरकुण्डमा अध्ययन केन्द्र बनाइने भएको छ । 

स्वदेश तथा विदेशबाट आउने हिन्दू तथा वौद्ध धर्मावलम्बीहरूलाई अध्ययन र अनुसन्धानमा सहज हुने गरी केन्द्र बनाउन बजेट बिनियोजन गरिएको छ । समुन्द्री सतहबाट ४ हजार ८ सय ९० मिटर उचाइमा रहेको दामोदर कुण्ड क्षेत्रमा अध्ययन गर्न चाहनेलाई केही दिन विताउन सहज हुने गरी मुक्तिनाथ मन्दिर ब्यवस्थापन समितिले १ करोड बजेट विनियोजन गरेको छ । 

केन्द्र बनाउन आवश्यक पर्ने सामान ढुवानी खच्चडबाट गर्नुपर्ने भएकाले डिजाइन तयार गरेपछि स्थानीय तह, प्रदेश र संघीय सरकार तथा विभिन्न धार्मिक क्षेत्रसँग समेत सहकार्य गरिने प्रजिअ भुषालको भनाई छ । केन्द्र बनाउन करिब ४ करोड लाग्ने अनुमान गरिएको छ ।

कालीगण्डकी नदीमा मात्र पाइने शालिग्राम शिलाको उद्घमस्थलको रुपमा समेत चिनिने दामोदरकुण्डमा पुग्ने धार्मिक अनुसन्धानकर्ताले संरचनाको अभावका कारण अध्ययन गर्न असहज भएको गुनासो गरेपछि समितिमार्फत १ करोड विनियोजन भएको समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुषालले बताउनुभयो । प्रजिअ भुषाल भन्नुहुन्छ, ‘‘दामोदर कुण्डको महिमाको अझै प्रचारप्रसार आवश्यक छ, थप बजेट जुटाएर नमुना धार्मिक अध्ययन केन्द्र बनाउँछौ ।’’ 

धार्मिक, पर्यटकीय दृष्टिले चर्चित कुण्ड क्षेत्रलाई हिन्दु र तथा वौद्ध धर्मावलम्बीहरू बाहेक भ्रमणमा आउने पर्यटकलाई समेत आर्कषित गर्न सकिने प्रजिअ भुषालको भनाइ छ । 

मुक्तिनाथ मन्दिर व्यवस्थापन समितिले मुक्तिनाथ, कागबेनी र दामोदर कुण्ड क्षेत्रमा जानेलाई सहज हुने गरी विभिन्न पूर्वाधार तथा सहयोगी निकाय, स्थानीय तहसँग समेत समन्वय गरेको छ । दामोदरकुण्डमा घोडा र पैदलमार्ग हुँदै पुग्नेलाई लेक लाग्ने समस्यालाई मध्यनजर गरी सिजनमा सचेतनामुलक अभियान तथा बिरामीलाई उपचारका लागि स्वास्थ्यकर्मीको परिचालन, अध्ययन केन्द्र निर्माणपछि प्राथमिक उपचारका साम्रगी समेत राखिने छ । 

दामोदर कुण्डमा नेपाल तथा भारतबाट धार्मिक समुहले लामो यात्रा गर्ने गरेकाले एकल र समुहमा जानेलाई  बास बस्न र भोजनमा सहज हुने गरी हाल निर्मित संरचनालाई समेत थप विस्तारका लागि पहल गर्ने मुक्तिनाथ मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

अर्धनिषेधित क्षेत्रमा पर्ने भएकाले भारतीयसहित तेस्रो देशका पर्यटकले १० दिनका लागि पाँच सय डलर तिरेर मात्रै प्रवेश अनुमति दिइने भएकाले दामोदर कुण्डमा जाने धेरै नेपाली हुन्छन् । अब कुण्ड क्षेत्रमा जानेको तथ्याङ्क समेत राख्ने योजना बनाइएको दामोदर कुण्ड ब्यवस्थापन समितिले जनाएको छ । 

सडक यातायात,सञ्चार र बसोबासको राम्रो व्यवस्था नभएका कारण दामोदर कुण्डको यात्रा भने कठिनपूर्ण छ । कुण्डमा पुगेका भक्तजनहरूको सुविधाका लागि धर्मशाला र पिउने पानीको व्यवस्था मिलाएको छ । 

हरेक वर्ष असारदेखि साउन महिना सम्म धर्मशालामा निःशुल्क भोजन समेत हुन्छ । जोमसोम–कोरला सडकखण्ड अन्तरगत घिमीठाँटीसम्म सडक सञ्जाल र त्यहाँबाट पैदल तथा घोडामा दामोदरकुण्ड पुगेर दर्शन गरी फर्किने गरिएको छ। घोडामा दामोदर कुण्ड पुग्नेले प्रति व्यक्ति १० हजार तिर्नुपर्छ । दामोदर कुण्डलाई मुक्तिक्षेत्रको शिर तथा कालीगण्डकी नदीको मुहान मानिन्छ ।

प्रसिद्ध मुक्तिनाथ मन्दिरका पूजारी कृष्णप्रसाद सुबेदीका अनुसार कुबेरका छोराहरुले दामोदरकुण्डमा स्नान गरी पाप पखालेको धार्मिक मान्यता रहेको छ । यस क्षेत्रबाट घरमा रहेको मन्दिरमा शालिग्राम शिलाराख्दा पुन्य कमाइने भएकाले तिर्थालुले शिला र जल लिएर जान्छन् । दामोदरकुण्डमा ३ वटा जलाशय चक्रकुण्ड, दूधकुण्ड र तामाकुण्ड छन्। यीमध्ये मुख्य कुण्ड चक्र कुण्ड। जहाँ चक्र कुण्ड र दूधकुण्ड एक स्थानमा पर्छ भने तामा कुण्ड करिव १ सय मिटर टाढा छ ।