• २० वैशाख २०८३, आइतबार

असोज मसान्तसम्म चार सय जना मतदाताको नाम दर्ता

blog

जिल्ला निर्वाचन कार्यालय बर्दियामा मतदाता नामावली दर्ता गराउँदै युवाहरू ।

यज्ञप्रसाद सापकोटा

गुलरिया(बर्दिया), कात्तिक ३ गते । बर्दियामा असोज मसान्तसम्म चार सय चार जनाले मात्र मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । गत असोज १० गतेबाट सुरुवात भएपनि बर्दियामा सुस्त गति मतदाता नामावलीमा नाम दर्ता  भएको छ । 

निर्वाचन कार्यालय बर्दियाका अनुसार असोज मसान्त सम्ममा पुरुष दुई सय ५५ जना र महिला एक सय ४९ जना गरि जम्मा चार सय चार जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । पछिल्लो समयमा दैनिक तीस देखि पचास जनाले नामावली दर्ता गराउने गरेको निर्वाचन कार्यालय बर्दियाका सूचना अधिकारी अनुप ढकालले बताउनु भयो । उहाँले सुरुको तुलनामा नाम दर्ता गराउनेको सङ्ख्या विस्तारै बढ्दै गएको बताउनु भएको छ । 

बर्दिया जिल्लामा असोज १० गते भन्दा अगाडि बर्दिया जिल्लामा पुरुष एक लाख ५६ हजार ९५, महिला एक लाख ६१ हजार दुई सय ३३ र अन्य छ जना गरी तीन लाख १७ हजार तीन सय ३४ जना मतदाता थिए । 

तिहार र धान काट्ने भएको हुनाले पनि मतदाता नामावलीमा नाम दर्ता गराउनेको संख्या न्यून भएको हुन सक्ने निर्वाचन कार्यालयको अनुमान छ । हरेक स्थानीय तहबाट तिहार पछि मतदाता नामावलीमा नाम दर्ता गर्न आउने खबर आएको सूचना अधिकारी ढकालले बताउनुभयो । उहाँले हरेक पालिकाले केही दिनको लागि मतदाता नामावली दर्ताका लागि पालिका आउन आग्रह गरेको बताउनु भयो । 

बर्दिया जिल्लाका गेरुवा गाउँपालिका, राजापुर नगरपालिका, बाँसगढी नगरपालिका लगाएतका स्थानीय तह सदरमुकाम देखि निक्कै टाढा भएको हुनाले सोही स्थानमा गएर मतदाता नामावली दर्ता गराउनुपर्ने बर्दिया नागरिक समाज संयोजक हिमा सुनारले बताउनु भयो । उहाँले भन्नुभयो, “बाँसगढी नगरपालिका वडा नं १ को चेपाङ्ग, बाटुले कुरुले गाउँ सुर्खेत र स्याङ्जाको सिमानामा पर्दछ । सदरमुकाम आएमा एक दिन बास बस्नु पर्ने हुन्छ, त्यो ठाउँमा मतदाता नामावली दर्ताको लागि निर्वाचन कार्यालय नै पुगे राम्रो हुन्थ्यो ।”

उहाँका अनुसार गेरुवा गाउँपालिका, राजापुर नगरपालिका, ठाकुरबाबा नगरपालिका र बाँसगढी नगरपालिकाबासीलाई  मतदाता नामावली दर्ताका लागि सदरमुकाम आउन गाह्रो हुन्छ ।