सिराज खान
नेपालगन्ज, कात्तिक ३ गते । तिहार र दिपावलीको बेला बाँकेमा ठुलो परिमाणको हारजित हुने गरी खेलिने गरेको जुवातासको विकृति विरुद्ध कडा अभियाननै चलाएको प्रहरीले कोहलपुरबाट ११ जना जुवाडेलाई पक्राउ गरेको छ ।
यसअघि गत साता मात्रै नेपालगन्जमा करिब १४ लाख रुपियाँसहित १४ जना र खजुराबाट ४७ हजार रुपियाँसहित पाँच जना जुवाडे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले आइतबार राति कोहलपुरबाट करिब तीन लाख रुपियाँसहित ११ जना जुवाडेलाई नियन्त्रणमा लिएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक पातलीले दिनु भएको जानकारी अनुसार आइतबार राति करिब साढे १२ बजेको समयमा कोहलपुर-१५, चौधरीया गाउँमा रहेको लक्ष्मीप्रसाद बोहोराको पुरानो कुखुरा फर्मभित्र हारजित हुनेगरि जुवातास खेलिरहेको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय कोहलपुरको प्रहरी टोलीले छापा मारेर करिब तीन लाख रुपियाँसहित ११ जनालाई जुवाखालबाटै नियन्त्रणमा लिइएको हो ।
सो ठाउँबाट प्रहरीले दुई लाख ८८ हजार ८३५ रुपियाँ र खुलेको सात गड्डी तास र नखुलेको सात गड्डी तासहित कोहलपुर-१५ का लक्ष्मीप्रसाद बोहोरा, सोही ठाउँका धनबहादुर परियार, मायाराम थारू, सन्जय चौधरी, सत्यनारायण थारू र राम सेवक थारू, कोहलपुर-४ का किसन सुनार, कोहलपुर-१२ का खेमबहादुर क्षेत्री, कोहलपुर-९ का चन्द्रराज गिरी, कोहलपुर-१४ का दिपेन्द्र थापा तथा डोल्पा मुडकीचुला गाउँपालिका-३ स्थायी घर भई हाल कोहलपुर-१४, बैजनाथ टोल बस्ने दिलिप सिंह ठकुरीलाई जुवा खेलिरहेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता पातलीले बताउनुभयो ।
उहाँले सो बारेमा थप अनुसन्धान भइरहेको जनाउँदै यस पटक जुवातास हुन नदिने अभियानमा प्रहरी रहेको बताउनुभयो ।
यसअघि प्रहरीले असोज २२ गते नेपालगन्जको मौरी रेस्टुरेन्टमा छापा मारेर जुवा खेलिरहेको अवस्थामा एक जना वरिष्ठ प्रहरी नायब निरीक्षकलाई समेत १४ जनालाई नियन्त्रणमा लिएर कारबाही गरेको थियो ।