अनिल पराजुली
हेटौँडा, कात्तिक ३ गते । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाले नेपाली साहित्य क्षेत्रमा गरेको योगदानको बारेमा हेटौँडामा कार्यक्रम गरी चर्चा गरिएको छ ।
महाकवि देवकोटाको ११७ औँ जन्मजयन्तीका अवसरमा हेटौँडा–११, नवलपुरस्थित त्रिभुवन माध्यमिक विद्यालय परिसरमा रहेको महाकवि देवकोटाको अर्धकदको प्रतिमामा माल्यार्पण गर्नुका साथै देवकोटाको कृतित्व तथा व्यक्तित्व र देवकोटाको योगदानको चर्चा तथा समीक्षा गरिएको छ ।
महाकवि देवकोटाको कृतित्व र व्यक्तित्वका बारेमा त्रिभुवन माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक वैकुण्ठ नेपालले चर्चा गर्नुभएको थियो । साहित्य सङ्गम मकवानपुर र युगप्रकाश क्लबको संयुक्त आयोजनामा महाकविको जन्मजयन्ती मनाइएको हो ।
युगप्रकाश क्लबका अध्यक्ष दीपक सिवाकोटीको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिका वडा ११ की वडाध्यक्ष जुना दहालको प्रमुख आतिथ्यमा कार्यक्रम भएको छ । कार्यक्रममा साहित्यकार देवराज खरेल, निमेष निखिल, पुरुषोत्तम आचार्य र स्वस्तिका बानियाँले महाकवि देवकोटाको रचना वाचन गर्नुभएको थियो ।
महाकवि देवकोटाको जन्म विसं १९६६ कात्तिक कृष्णऔँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो । दस वर्षको उमेरमा कविता लेख्न सुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् ।
उहाँले नेपाली साहित्यलाई सयभन्दा बढी कृति दिनुभयो । यी कृतिका माध्यमबाट देवकोटाले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउनुभयो । नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गर्नुभएका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म सबैभन्दा बढी बिक्री भएको पुस्तक मानिन्छ ।