• ३ कात्तिक २०८२, सोमबार

उपाधीका लागि प्रतिस्पर्धा गर्दै ज्योतिपुञ्ज र युनाईटेड युथ

blog

दोस्रो सेमिफाइनलमा प्रतिस्पर्धा गर्दै ज्योतिपुञ्ज र देवदह । तस्बिर : इमान सिं राना

इमान सिं राना
रामपुर (पाल्पा), कात्तिक ३ गते ।
वाइवाइ तेस्रो ज्योतिपुञ्ज कप राष्ट्रिय फुटबल प्रतियोगितामा उपाधिका लागि आयोजक ज्योतिपुञ्ज युवा क्लव, रामपुर र डिफेन्डिङ च्याम्पियन युनाईटेड युथ क्लव गिरुबारीबिच प्रतिस्पर्धा हुने भएको छ । पाल्पाको रामपुरमा जारी प्रतियोगितामा उपाधिको दाबीसहित दुवै टोलीले सोमबार हुने प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।

आइतबार भएको दोस्रो सेमिफाइनल खेलमा ज्योतिपुञ्ज युवा क्लवले देवदह ब्वाईज, रुपन्देहीलाई ३–२ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेसँगै ज्योतिपुञ्ज र साविक विजेता युनाईटेड युथ बिच फाइनलमा प्रतिस्पर्धा हुने निश्चित भएको हो । युनाईटेड युथ शनिबार भएको पहिलो सेमिफाइनल खेलमा अभिषेक चर्च रजहर, नवलपुरलाई टाइब्रेकरमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।

आइतबार भएको खेलमा पहिलो हाफको १४ औं मिनेटमा सुरज चौधरीले गोल गर्दै देवदह ब्वाईजलाई अग्रता दिलाउन सफल भएको थियो । २६ औं मिनेटमा ज्योतिपुञ्जका सुमित श्रेष्ठले गोल फर्काएर खेललाई बराबरीमा फर्काएको थियो । पुनः ज्योतिपुञ्जका ३७ औं मिनेटमा निरज चौधरीले गोल गरेर अग्रता बढाउन सफल भएका थिए । दोस्रो हाफको खेल सुरु भएसँगै ४७ औं मिनेटमा निरज चौधरीले थप गोल गर्दै ज्योतिपुञ्जलाई ३–१ को बलियोे अग्रता प्रदान गर्नुभएको थियो । ५९ औं मिनेटमा देवदहका लागि पुनः सुरज चौधरीले एक गोल थप गर्दै अग्रता घटाउन सफल भएको थियो । अन्तत ज्योतिपुञ्ज फाइनलमा प्रवेश गरेको हो ।

युनाईटेड युथ क्लव, नवलपुर र अभिषेक चर्च रजहर, नवलपुरबिचको खेल निर्धारित समयमा १–१ को बराबरीमा टुङ्गिएपछि पेनाल्टी सुटआउटमार्फत नतिजा निर्धारण गरिएको थियो । खेलको पहिलो हाफमा युनाईटेड युथ क्लवका लागि १३ औं मिनेटमा एरोन थापाले गोल गर्दै टिमलाई अग्रता दिलाउन सफल भएको थियो । खेलको ५७ औं मिनेटमा अभिषेक चर्चका लागि विक्की चौधरीले गोल गर्दै दोस्रो हाफमा खेललाई बराबरीको लयमा फर्काएको थियो । फाइनल खेल सोमबार दिउँसो हुने खेल संयोजक अनिल शाही ठकुरीले जानकारी दिनुभयो ।

गत असोज २६ देखि सुरु भएको प्रतियोगितामा ए डिभिजन क्लवसहित १० वटा समूहको सहभागीता रहेको थियो । प्रतियोगिताको विजेताले नगद तीन लाख ५० हजारसहित ट्रफी र मेडल हात पार्नेछ । उपविजेताले दुई लाखसहित ट्रफी, मेडल प्राप्त गर्नेछ । सेमिफाइनलमा पराजित टिम अभिषेक चर्च रजहर र देवदह ब्वाईजलाई २५–२५ हजार रुपियाँ प्रदान गरिएको छ । ज्योतिपुञ्ज युवा क्लब, रामपुर–७, पाल्पाले २९ औं वार्षिक उत्सवको अवसरमा  जिल्ला कै सर्वाधिक पुरस्कार राशीसहितको तेस्रो संस्करणको प्रतियोगिता सञ्चालन गरेको हो ।