• ३ कात्तिक २०८२, सोमबार

चेतनशक्ति दिने प्रकाशमय तिहार

blog

तिहार आउँदै गर्दा नेपाल सारा सुनौला देखिएको हुन्छ । कात्तिक मासको गाउँघरको आँगन टालटुल, लिपपोत गरी सर्लक्क पारिएको हुन्छ । आँगनको डिलवरिपरि तलमाथि सयपत्री गोदावरी मखमली तिहारे फूलहरूको उत्कर्षको फुलाइका साथ मगमग बास्ना छरिरहेका हुन्छन् । वरिपरिको वातावरण अत्यन्त मधुर तथा उल्लासमय हुन्छ । धेरै जसोका घरमा दाजुभाइ दिदीबहिनी तिहारका लागि जम्मा भएका हुन्छन्, बाबुआमा पनि छोराछोरीलाई साथमा देखेर मनैदेखि आनन्दित हुन्छन् । घमाइलो गोठमा गाईभैँसी भेडाबाख्रा, घाँसपानी कुँडो खाएर रमाएका हुन्छन् ।

अहिले देशभर तिहार अर्थात् यमपञ्चकको रौनक छाएको छ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्मका पाँच दिनलाई यमपञ्चक भन्ने गरिन्छ । पौराणिककालमा यमराजले आफ्नी बहिनी यमुनाका घरमा आतिथ्य ग्रहण गरेको हुनाले यी पाँच दिनलाई यमपञ्चक भनिएको हो । यमपञ्चकको अन्तिम तथा पाँचौँ दिनलाई भाइटीका अर्थात् भ्रातृद्वितीया भनिन्छ । यही दिन दिदीबहिनीले दाजुभाइको दीर्घायु, आरोग्यता, ऐश्वर्य, कीर्ति आदिको वृद्धिको कामना गर्दै भाइटीका लगाइदिने गर्छन् । नेपालमा दीपावली भनिने तिहार भारतमा दीपावलीको नामले मनाइन्छ । वैदिक सनातनीले मनाउने यो पर्वमा विशेष गरी लक्ष्मीपूजाको दिनलाई प्रकाशमय बनाइन्छ । विश्वभर छरिएर रहेका नेपालीले ठाउँ परिस्थिति र आआफ्नो रीतिरिवाज अनुसार तिहार मनाउने गर्छन् । 

पाँच दिनसम्म मनाइने तिहारको हरेक दिनको आफ्नै धार्मिक तथा सांस्कृतिक महत्व छ । यो पर्वले मानिस, जनावर, प्रकृति र देवी देवताप्रतिको सम्बन्ध, श्रद्धा र प्रेम दर्शाउँछ । यो पर्वले दिदीभाइ दाजुभाइबिचको पवित्र प्रेमलाई आत्मसात् गर्दै उनीहरूबिचको सद्भाव र पारस्परिक मिलनको अवसर जुटाउँछ । नेपालीलाई धार्मिक, सांस्कृतिक, सामाजिक पुनर्मिलन गराउने भाइटीका पर्वको विशिष्ट महत्व छ ।

 यमपञ्चकको पहिलो दिन पर्ने कागतिहारमा यमदूतका रूपमा कागलाई पूजा गरिन्छ । यस दिन घरमा बिहान पकाइएका सबै परिकार पहिला कागलाई दिएर मात्रै परिवारका सबै सदस्यले खाइन्छ । कागलाई पूजा गर्दा सम्पूर्ण पन्छीप्रतिको अस्तित्व र गहिरो प्रेम झल्किन्छ ।

दोस्रो दिन कुकुर तिहार अर्थात् कार्तिक कृष्ण पक्षको चतुर्दशी तिथि जसलाई नरक चतुर्दशी पनि भनिन्छ । यस दिन दिदीबहिनीले बिहानै उठेर नजिकैको धारा, कुवा वा खोलामा गएर नुहाई टपरीभित्रै टाँसिने गरी गाँसिएका दुनामा तेलको बत्ती बालेर नर्के फाल्ने गरिन्छ । दियोमा तिहारे फूल चढाई पञ्चतìवको पूजा गर्दै दाजुभाइ तथा परिवारको आरोग्यताको कामना गर्दै धारा, कुवा छेउ तथा नदीका किनारमा छोड्ने गरिन्छ । यसलाई नर्के फाल्ने भनिन्छ । यसरी नर्के फाल्दा व्यक्तिभित्रका नकारात्मक ऊर्जा र रोगव्याधि नष्ट भई सकारात्मक ऊर्जा र आरोग्यता प्राप्त हुने मान्यता छ । नरक चतुर्दशीकै दिन कुकुर तिहार मनाइन्छ । कुकुरलाई पूजा गरी टीका, माला लगाइदिने र मिठा मिठा परिकार खान दिने गरिन्छ । भैरवको वाहन कुकुर यस दिन दङ्ग परेर हर्षोल्लासका साथ वरपर डुलिरहेका देखिन्छन् । 

औँसीको दिन धनधान्यकी देवी लक्ष्मीको स्वागतका लागि बिहानैदेखि परिवारका सबै सदस्य मिलेर घरआँगन, मूलबाटो, गोरेटो, स्कुल, अफिसलगायतका भौतिक संरचनाको सरसफाइ गरिन्छ । घरका ढोकाहरूमा तेलका धारा लगाइन्छ । मौलिक मिठाई जस्तैः फिनी, अर्सा, अनरसा, सेलरोटीलगायत मिठा प्रसाद तथा पकवान  बनाइन्छ । टोल टोलमा तोरण (बाबियोलाई बटारेर बनाइएको डोरीमा फूलपत्रहरू राखेर सजाइएको) टाँगेर लक्ष्मीको स्वागत गरिन्छ । घर घरमा साँझमा तामाका तथा माटाका दियो बालेर मझेरी खोपा, झ्याल, ढोका, पिँढी, भ¥याङ, आँगन, मठ, आँटी, भण्डार, धन्सार, गोठ, धारा जताततै दीपावली गरी झिलिमिली पारिन्छ । त्यसैले यस दिनलाई सुखरात्रि पनि भनिन्छ । कतै कतै केराको (मचेटो) सुत्लामा बत्ती भिजाएर मिलाएर बाल्ने चलन छ । दीपको अर्थ दियो अर्थात् प्रकाश र आवलीको अर्थ पङ्क्तिमा बालेर प्रकाशमय बनाउनु अर्थात् उज्यालोको शृङ्खलालालाई दीपावली भनिन्छ ।

गाउँघरमा जस्तै सहरमा पनि बिजुलीबाट बल्ने झिलिमिली बत्ती र मैनबत्तीले झकिझकाउ पारिएका हुन्छन् । उज्ज्वल र उल्लासको पर्व दीपावलीमा सुख, शान्ति र समृद्धिको कामना गर्दै ऐश्वर्यकी देवी लक्ष्मीको आराधना गरिन्छ । लक्ष्मी पूजामा प्रसादको रूपमा पकाएका विभिन्नथरी रोटीको मगमग वासना घरभरि छरिएको हुन्छ । बालबालिकाको सोख, कौशल र कौतूहलता अनुरूप आजकल लक्ष्मीको स्वागतमा रङ्गोली बनाउने चलन आएको छ । यसले उज्यालो तिहारलाई थप रङ्गीन बनाउँछ । लक्ष्मी पूजाको दिन बलि राजालाई सम्झँदै देउसी भैलो खेल्ने गरिन्छ । देउसी भैलो खेल्दा परिवार समाजबिचको मेलमिलाप र सद्भाव झल्किन्छ । 

चौथो दिन गोवर्धन पूजा र गाई तिहार पर्छ । गाईलाई गौमाताको रूपमा पूजा गरी टीका र माला लगाई चामलको पिठोको पिँडो बनाई खुवाउने गरिन्छ । वैदिक सनातनीले गर्ने शुभ कार्यमा गाईको दुध, गहुँत र गोबरको प्रयोग गर्नु अनिवार्य मानिन्छ । यसै गरी गोरुलाई खेतीबाली लगाउने सहयोगीका रूपमा पूजा गरिन्छ । यस दिन गोठमा गाईको गोबरको थुप्रोलाई गोवर्धन पर्वतको आकार बनाई सयपत्रीको फूलले सिँगारेर फूलको थुप्रो जस्तै बनाइन्छ र पूजा गरिन्छ । गाईगोरु सिँगार्न पिठोको झोलमा रङ घोलेर ठेकीको बिर्को डोब्दै गाईगोरुको निधार र शरीरभरि लगाइदिने गरिन्छ । नेवारी समुदायले यस दिनलाई नयाँ वर्षको रूपमा (नेपाल संवत्) मनाउँछन् । साथै यही दिन नेवारहरूले म्हपूजा अर्थात् आफ्नै शरीर र आत्माको पूजा गर्छन् । यसले भगवान् आफैँभित्र छन् भन्ने मान्यतालाई अझै सुदृढ बनाउँछ । 

भाइटीकाको दिन बिहानै नुहाइधुवाइ गरेर टीकाको सर्जाम जुटाउने, मिठा मिठा परिकार बनाउने, टीकाको थाली सजाउने गरिन्छ । रातो माटोले लिपेका आँगनमा गुन्द्री गलैँचा ओच्छ्याई टीका लागाउँदा बस्ने आसन बनाउने, दियो कलश सजाउनेलगायतका तयारी गरिन्छ । दिदीबहिनीको शुभेच्छामा प्रकट भएको शक्तिले दाजुभाइ तथा माइतीको जीवनमा आउने अप्ठ्यारो र अशुभको नाश हुने यस पर्वको पवित्र मान्यता छ । सो अनुरूप दिदीबहिनीले बिमिरो आदिको पूजा गरी, कठोर ओखर, ढोकामा फुटाएर माइती तथा दाजुभाइको जीवनबाट सम्पूर्ण कष्ट तथा बाधा हटून् भन्ने कामना गर्छन् । 

दिदीबहिनीले दाजुभाइको सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्दै अष्टचिरञ्जीवी तथा गणेश, यमुना, नवग्रह, ब्रह्मा, विष्णु, महेश्वर आदि देवताको पूजा गर्छन् । दियो कलश पूजेपछि दिदीबहिनीले दाजुभाइलाई जल र दुबोले तेलको धारा छर्कंदै परिक्रमा गरेर दाजुभाइलाई कान र टाउकोमा तेल लगाई दिएपछि चामलको पिठोसहित ठाडो गरी, पिसेको दुबोसहितको सप्तरङ्गी टीका र कहिल्यै नओइलाउने मखमली कहिल्यै नखुइलिने सयपत्री फूल आदिको माला र टोपी लगाई उपहार दिने गर्छन् । दाजुभाइले पनि दिदीबहिनीलाई टीका लागाइदिई उपहारस्वरूप दक्षिणा दिन्छन् । एकआपसमा खुसी साट्दै, मिष्ठान्न परिकार, मसला र फलफूल खाएर रमाइलो गरिन्छ ।

तिहारले दिदीभाइ दाजुबहिनीबिचको पवित्र प्रेम, प्रकृति र जनावरप्रतिको सम्मान, काग, कुकुर, गाई, गोरु जस्ता जनावरलाई पूजा गरी सहअस्तित्व र करुणाको सन्देश दिन्छ । लक्ष्मी पूजाबाट घर परिवारमा सुख शान्ति समृद्धिको कामना गर्नु, सुगन्धित फूलहरूको सजावट, बत्तीको झिलिमिलीले हाम्रो रङ्गीन संस्कृति सर्वत्र झल्किन्छ । तिहार अर्थात् यमपञ्चकमा पशुपन्छी तथा प्रकृतिको समेत पूजा गर्ने हुँदा यस पर्वले वातावरणीय महत्वलाई पनि अँगालेको छ । 

दाजुभाइ दिदीबहिनीबिच मिलन र सद्भाव ल्याउने उज्यालो र फूलैफूलको सप्तरङ्गी पर्व तिहारले संसारभरि शान्ति, समृद्धि, आपसी मैत्री तथा करुणाको भावलाई विश्वभरि फैलाएको छ । आफ्नो मन र जीवनको अँध्यारो अज्ञान दुःख, ईष्र्या, असत्य हटाएर ज्ञान, सुख, प्रेम र सत्यतर्फ बढ्न प्रेरित गर्नु यमपञ्चकको मर्म हो । बर्षैंपिच्छे आउने यो पर्वले दिदीबहिनी र दाजुभाइबिचको सम्बन्धलाई अझै प्रगाढ बनाउँदै पुनर्ताजगी थप्छ । यस पर्वले आफूमा अन्तर्निहित चेतनशक्तिको प्रकाशले जीवनका कुनै पनि किसिमको अँध्यारोलाई हटाउनुपर्ने सन्देश दिन्छ ।