• ३ कात्तिक २०८२, सोमबार

बागलुङका किसानलाई धान भित्र्याउन चटारो

blog

बर्खे धान भित्र्याउँदै काठेखोला गाउँपालिका–२ भीमापोखराका किसान । तस्बिरः अर्जुन कार्की

अर्जुन कार्की
काठेखोला (बागलुङ), कात्तिक ३ गते ।
बागलुङका किसान यतिबेला धान भित्र्याउन व्यस्त भएका छन् । घरआँगनमा हिन्दु नेपालीहरुको दोस्रो महानचार्ड तिहार (दीपावली) आइपुगे पनि धान पाकेकाले किसानहरु धमाधम धान भित्र्याउन थालेका हुन् । दसैँपछि मौसम अनुकूल भएकाले किसानहरुलाई धान काट्न र बाली भित्र्याउन सहज भएको छ ।

धान पाकेसँगै खेतमा धान काट्ने, बोक्ने, छाट्ने र भित्र्याउने काममा गाउँभरी चहलपहल देखिएको छ । काठेखोला गाउँपालिका–७ रेशका किसान विनोद कार्कीले खेतमा पाकेर झुलिसकेको धान मौसम सुधार भएसँगै बल्ल काटेर घरमा भित्र्याइएको बताउनुभयो । “तिहार नजिकिएपनि खेतमा धान पाकेकोले सवै किसान खेत तिरै छौं,” उहाँले भन्नुभयो, “अहिले गाउँघरमा किसानलाई धान घरमा भित्र्याउन भ्याईनभ्याइ छ ।”

यस पटक धान राम्रो फलेको काठेखोला गाउँपालिका–२ भीमापोखराका किसान डिल बहादुर के.सी.ले बताउनुभयो । “अहिले धानमा किरा लागेको छैन” उहाँले भन्नुभयो, “समयमै पानी परेको कारणले पनि अहिले राम्रो धान फलेको छ । उत्पादन वृद्धि हुने अपेक्षा लिएका छौं ।”

धेरै जसो किसानले तिहार अगाडी र केहीले तिहारलगत्तै धान घरमा भित्र्याउने तयारी गरेका छन् ।

यस वर्ष बागलुङमा पाँच हजार चार सय ७९ हेक्टर जमिनमा धान खेती गरिएको कृषि ज्ञान केन्द्र बागलुङले जनाएको छ । बर्खाको समयमा बाढीले केही क्षेत्रफलमा धान खेतीलाई प्रभावित पारेपनि समग्रमा खेती राम्रो रहेको कृषि ज्ञान केन्द्र बागलुङका सूचना अधिकारी तथा बाली संरक्षण अधिकृत सन्तोष अधिकारीले जानकारी दिनुभयो ।

उहाँले यस वर्षको सुरुवातमा फेद कुहिने रोग र अहिले केही स्थानमा हाइब्रीड धानमा कालो पोके र घाटिमरुवा रोग देखिएपनि स्थानीय जातका धान राम्रो उत्पादन भएको जानकारी दिनुभयो । “एक, दुई जना कृषकले लगाएको हाइब्रीड धानमा कालो पोके र घाटिमरुवा रोग देखा परेको छ,” अधिकारीले भन्नुभयो, “त्यस बाहेक अन्य लोकल बिऊँ लगाउनु भएका कृषकहरुको धान उत्पादन यस वर्ष राम्रो देखिएको छ ।” गत वर्ष बागलुङमा २० हजार सात सय ४५ मेट्रिक टन बर्खे धान फलेको थियो ।