अमरराज नहर्की
तनहुँ, कात्तिक २ गते । तनहुँको म्याग्दे गाउँपालिकाले गर्भवती महिलालाई नियमित गर्भजाँच र सुरक्षित सुत्केरीका लागि प्रोत्साहित गर्न पोषणभत्ता वितरण गर्दै आइरहेको छ । जसअन्तर्गत गाउँपालिकाले ‘अध्यक्षसँग सुत्केरी’ कार्यक्रमअन्तर्गत थर्पु आधारभूत अस्पतालमा संस्थागत सुत्केरी गराएकी २४ जना महिलालाई प्रत्येकी पाँच हजार रुपियाँका दरले पोषण रकम उपलब्ध गराएको छ ।
गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठका अनुसार मातृशिशु मृत्युदर घटाउन र घरमै सुत्केरी गर्ने जोखिमपूर्ण प्रवृत्तिलाई रोक्न यो कार्यक्रम प्रभावकारी बन्दै गएको छ । अध्यक्ष श्रेष्ठले भन्नुभयो, “गर्भावस्थामा स्वास्थ्य परीक्षण नगर्ने र घरमै सुत्केरी गर्ने महिलामा ज्यान जाने जोखिम बढी हुन्छ, त्यसलाई न्यूनीकरण गर्न हामीले सुरक्षित सुत्केरीमा जोड दिएका छौँ ।”
उपाध्यक्ष बालकृष्ण घिमिरेले गाउँपालिकाको यो अभियानले गर्भवती महिलामा स्वास्थ्य सचेतना बढाएको बताउनुभयो । घिमिरेले भन्नुभयो, “पहिले धेरैजसो महिला घरमै सुत्केरी गर्थे, अहिले भने स्वास्थ्य संस्थामा सुत्केरी गर्न उत्साहित भएका छन्, यो हाम्रो अभियानको सकारात्मक उपलब्धि हो ।”
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तिलक घिमिरेका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा संस्थागत सुत्केरी गराउने १७ र सुत्केरी अवस्थामा जटिलता आएर अन्यत्र पठाइएका सात जनालाई सो भत्ता प्रदान गरिएको हो । उहाँले भन्नुभयो, “यो कार्यक्रमले गर्भवती महिलालाई समय–समयमा गर्भजाँच गर्न र स्वास्थ्य संस्थामार्फत सुरक्षित सुत्केरी गर्न प्रोत्साहन गरेको छ ।”
उँपालिकाले सुत्केरी महिलालाई घरबाट स्वास्थ्य संस्थासम्म र पुनः घर फर्कने क्रममा निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउँदै आएको छ । घिमिरेले जानकारी दिँदै भन्नुभयो, “यहाँको स्वास्थ्य संस्थामा सुत्केरी हुन नसकेका महिलालाई पोखरासम्म पनि निःशुल्क एम्बुलेन्स सेवा दिइरहेका छौँ ।” गर्भावस्थामा कम्तीमा चार पटक स्वास्थ्य परीक्षण गरेका महिलालाई मात्र पोषणभत्ता दिइने व्यवस्था गरिएको छ ।
थर्पु आधारभूत अस्पतालका मेडिकल अधिकृत डा. धिरज अधिकारीले सुरक्षित मातृत्व सुनिश्चित गर्न स्थानीय तहको सक्रियता महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “गर्भवतीले समयमा स्वास्थ्य परीक्षण गर्यो भने जटिलता कम हुन्छ र आमा–शिशुको ज्यान जोगाउन सजिलो हुन्छ ।”
जनस्वास्थ्य निरीक्षक सक्षम घिमिरेले गर्भवतीले कम्तीमा चार पटक गर्भ परीक्षण गर्नुपर्ने व्यवस्था पोषणभत्ता वितरणसँग जोडिएकाले महिलामा स्वास्थ्य संस्थामा जाने प्रवृत्ति बढेको बताउनुभयो । “अब अधिकांश गर्भवती नियमित रूपमा स्वास्थ्य संस्थामा आउँछन्, जसले आमा र शिशु दुवैको सुरक्षामा सहयोग पुर्याएको छ,” उहाँले बताउनुभयो ।
पाँच वर्षदेखि सञ्चालनमा रहेको यो कार्यक्रमका कारण घरमै हुने असुरक्षित सुत्केरी घट्दै गएको र संस्थागत सुत्केरी बढ्दै गएको गाउँपालिकाले जनाएको छ ।