पुरूषोत्तम सुबेदी
पश्चिम नवलपरासी, कात्तिक २ गते । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) ले विद्यालयको कम्प्युटर र पंखा चोरी गरी बिक्री गर्ने तथा खरिद गरेको आरोपमा दुवै पक्षका गरी ६ जनालाई पक्राउ गरेको छ ।
रामग्राम नगरपालिका–९ करमैनीस्थित राष्ट्रिय माध्यमिक विद्यालयबाट भएको चोरी घटनाको अनुसन्धानका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी विरदत्त पन्तका अनुसार पक्राउ पर्नेमा चोरी कार्यमा प्रत्यक्ष संलग्न दुई जना र चोरीका सामान किन्ने चार जना रहेका छन् ।
चोरी कार्यमा संलग्नहरूमा रामग्राम नगरपालिका–९ करमैनीका २२ वर्षीय अयोध्यायप्रसाद चमार र सोही ठाउँका जोगिन्द्र हरिजन रहेका छन् ।
विद्यालय व्यवस्थापन समितिका अनुसार असोज ६ देखि २१ गतेसम्मको बिदामा विद्यालयबाट ७ थान कम्प्युटर र १० थान सिलिङ् पंखा चोरी भएको थियो । बिदापछि विद्यालय खुल्दा चौकीदारले सामान नभएको जानकारी दिएपछि चोरी भएको थाहा भएको थियो ।
चोरी भएका उक्त सामानहरू चोरहरूले पाल्हीनन्दन गाउँपालिकाको पर्सिया र बैरवाका तीन तथा परासीको एक पसलमा बिक्री गरेका थिए। चोरीको सामान किनेको अभियोगमा चार जना पसलेहरूलाई समेत पक्राउ गरिएको डिएसपी पन्तले जानकारी दिनुभयो ।
प्रहरीले अहिलेसम्म चोरी भएकामध्ये ५ थान कम्प्युटर, ३ थान सिपियू र ८ थान पंखा बरामद गर्न सफल भएको छ । चोरी कार्यमा संलग्न सबैलाई चोरीअन्तर्गत अनुसन्धान गरी मुद्दा प्रकृया अघि बढाइएको प्रहरीले जनाएको छ ।