अर्जुन कार्की
काठेखोला (बागलुङ), कात्तिक १ गते । बागलुङमा जारी ‘अन्तर्राष्ट्रिय बागलुङ समाज कप’ पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ ।
शुक्रबार क्याटरफाइनलमा जित निकाल्दै ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका, काठेखोला गाउँपालिका र गलकोट नगरपालिका सेमिफाइनलमा पुगेका हुन् ।
पहिलो क्वाटरफाइनल खेलमा ढोरपाटन नगरपालिकाले बरेङ गाउँपालिकालाई ३–१ को सेटमा पराजित गर्यो । पहिलो सेट २४–२६ ले गुमाएको ढोरपाटनले दोस्रो सेटमा २५–१८, तेस्रो सेट २५–२० र चौथो सेट २५–१९ ले जित्दै सेमिफाइनलको यात्रा तय गरेको हो ।
यस्तै, दोस्रो क्वाटरफाइनल खेलमा निसीखोला गाउँपालिकाले जैमिनी नगरपालिकालाई ३–० को सोझो सेटमा पराजित गर्यो । निसीखोलाले २५–१५, २५–१९ र २५–१९ ले विजयी भयो । यस्तै तेस्रो क्वाटरफाइनल खेलमा काठेखोला गाउँपालिकाले बागलुङ नगरपालिकालाई ३–१ को सेटमा पराजित गर्यो । पहिलो सेट २५–१३ र दोस्रो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको काठेखोलाले तेस्रो सेट २८–३० ले गुमाएको थियो । काठेखोलाले चौथो सेट २५–२३ को नतिजा निकाल्दै सेमिफाइनलमा प्रवेश गर्यो ।
यस्तै, अन्तिम क्वाटरफाइनल खेलमा गलकोट नगरपालिकाले ताराखोला गाउँपालिकालाई ३–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो । गलकोटले पहिलो सेट २६–२४, दोस्रो सेट २५–१५ र तेस्रो सेट २५–१८ ले आफ्नो पक्ष्यमा पार्यो ।
शनिबार हुने पहिलो सेमिफाइनल खेल ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकाबिच हुनेछ । गलकोट नगरपालिका र काठेखोला गाउँपालिका दोस्रो सेमिफाइनलमा आमनसामने हुनेछन् । फाइनल खेल समेत शनिबार नै हुने प्रतियोगिताका व्यवस्थापक जिल्ला भलिबल संघ बागलुङका उपाध्यक्ष किशोर थापाले जानकारी दिनुभयो । गत बुधबारदेखि सुरु भएको प्रतियोगितामा जिल्लाका दसवटै पालिकाले सहभागिता जनाएका थिए ।
अन्तर्राष्ट्रिय बागलुङ समाजद्वारा आयोजित यस प्रतियोगिताको विजेता टिमले ट्रफी र मेडलसहित दुई लाख, उपविजेताले एक लाख, तेस्रो स्थान हासिल गर्ने टिमले ५० हजार र सान्त्वना हुने टिमले २५ हजार पुरस्कार पाउनेछ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई दस हजार, उत्कृष्ट टिम प्रशिक्षकलाई पाँच हजार अन्य विधागत रुपमा उत्कृष्ट हुने खेलाडीलाई पाँच हजार प्रदान गरिने समाजका सचिव एवम् प्रतियोगिताका संयोजक राजु थापाले बताउनुभयो ।