धनगढी समाचारदाता
धनगढी, कात्तिक १ गते । आगजनी र तोडफोड गरिएको सुदूरपश्चिम प्रदेश सभा सचिवालय र विषयगत समितिका कार्यालय मर्मत गरिएको छ । कम क्षति भएका सचिवालय र विषयगत संसदीय समितिका कार्यालय मर्मत गरिएको हो । प्रदेश सभा सचिवालयका सचिव बस्ने कार्यकक्ष व्यवस्थापनसहित विभिन्न समितिको कार्यालय सामान्य मर्मत भएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले जानकारी दिनुभयो ।
“विषयगत समितिको एउटाबाहेक अन्य समितिको कार्यालयमा त्यति धेरै क्षति भएको थिएन,” उहाँले भन्नुभयो, “सामान्य मर्मतको कार्य गरिएको छ ।” सुदूरपश्चिम प्रदेश सभा अन्तर्गत पाँच वटा विषयगत संसदीय समिति रहेका छन् ।
प्रदेश सभा भवन र राजनीतिक दलका संसदीय दलको कार्यालय मर्मतको कार्य भने अझै सुरु गरेको छैन । बढी क्षति भएका कारण संसदीय दलको कार्यालय र प्रदेश सभा भवन मर्मतको काम सुरु नभएको जैसीले बताउनुभयो । उहाँले छलफलपश्चात् तिहारपछि मर्मतको काम अगाडि बढाइने उल्लेख गर्नुभयो । जेनजी आन्दोलनको क्रममा प्रदर्शनकारीले भदौ २४ गते प्रदेश सभाको संरचनामा आगजनी र तोडफोड गरेका थिए ।