• १ कात्तिक २०८२, शनिबार

लैङ्गिक हिंसा न्यूनीकरण गर्न निर्देशिका स्वीकृत

blog

बुलबुले समाचारदाता

सुर्खेत, कात्तिक १ गते । कर्णाली प्रदेश सरकारले लैङ्गिक हिंसा न्यूनीकरण गर्न निर्देशिका स्वीकृत गरेको छ । मङ्गलबार बसेको मन्त्रीपरिषद्को बैठकले लैङ्गिक हिंसा प्रभावितका लागि घटना व्यवस्थापन तथा प्रेषण प्रक्रिया निर्देशिका–२०८२ स्वीकृत गरेको हो । मन्त्रीपरिषद्को बैठकबाट स्वीकृत भएसँगै निर्देशिका कार्यान्वयनमा जाने छ । लैङ्गिक हिंसापीडितका घटनाको व्यवस्थापन तथा प्रेषण प्रणालीलाई प्रभावकारी बनाउन निर्देशिका स्वीकृत गरेको प्रदेश सरकारले जनाएको छ । यसअघि विभिन्न कार्यक्रममा सरोकारवालाले ऐन नै निर्माण गरेर लैङ्गिक हिंसा न्यूनीकरण गर्नुपर्ने सुझाव दिएका थिए । सोही सुझावका आधारमा सरकारले निर्देशिका जारी गरेको हो । 

यो वर्ष पनि लैङ्गिक हिंसा न्यूनीकरणका लागि विभिन्न कार्यक्रम राखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । स्थानीय सरकार र विभिन्न सङ्घ संस्थाको समन्वयमा ती कार्यक्रम कार्यान्वयन गर्ने योजना निर्माण गरिएको मन्त्रालयका सामाजिक महाशाखा प्रमुख सुवर्ण खड्काले बताउनुभयो । निर्देशिका अनुरूप नै ती कार्यक्रम कार्यान्वयन हुने छन् ।

कर्णाली प्रदेशमा महिलाहरू घरेलु हिंसाको सिकार हुने गरेका घटना धेरै भेटिन्छन् । पछिल्लो समय त घरभित्रै महिलाको हत्यासम्म हुने गरेका जघन्य घटना हुन थालेका छन् । यसले महिलाका लागि घर नै सबैभन्दा असुरक्षित क्षेत्र बनाएको छ । एउटा अध्ययनले प्रत्येक १० मध्ये छ महिला घरमा असुरक्षित छन् र तिनीहरू घरेलु हिंसा र मानसिक प्रताडना आफ्नै घरमा सहन बाध्य रहेको देखिएको छ । 

प्रदेश सरकारले लैङ्गिक हिंसा न्यूनीकरण गर्न विशेष योजना निर्माण गरेको छ । कानुन नै निर्माण गरी प्रतिफलमा आधारित योजना निर्माण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यो वर्ष निर्माण गरिएको निर्देशिका अनुरूप नै कार्यक्रम कार्यान्वयन हुने छन् । अघिल्ला वर्षमा पनि प्रदेश सरकारले लैङ्गिक हिंसा न्यूनीकरणको योजना बनाएको थियो ।कर्णाली प्रदेशमा लैङ्गिक तथा घरेलु हिंसाको ग्राफ बढ्दो क्रममा रहेको देखिन्छ । विगत पाँच वर्षको तथ्याङ्क विश्लेषण गर्दा लैङ्गिक तथा घरेलु हिंसाका घटनाको ग्राफ निरन्तर बढेको पाइएको हो । 

प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क अनुसार बर्सेनि रूपमा घरेलु हिंसाका घटनामा वृद्धि भइरहेको देखिएको छ । आर्थिक वर्ष २०७७/७८ मा ८७५ वटा घरेलु हिंसाका घटना दर्ता भएका थिए । आव २०७८/७९ मा ८८३, आर्थिक वर्ष २०७९/०८० मा ८५८, आव २०८०/८१ मा ८८० र आव २०८१/८२ मा ८७६ वटा घरेलु हिंसाका घटना दर्ता थिए । चालु आवको हालसम्म १६ वटा घरेलु हिंसाका घटना दर्ता भएका छन् । पछिल्लो समय महिलामाथि हुने हिंसा झन् झन् बढ्दै गएको प्रहरीको तथ्याङ्क छ ।