• १ कात्तिक २०८२, शनिबार

त्रिवि क्रिकेट रङ्गशालाको गुरुयोजना स्वीकृत, लागत दस अर्ब

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक १ गते ।  सरकारले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान आयोजनाको गुरुयोजना स्वीकृत गरी राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रूपमा निर्धारण गर्ने निर्णय गरेको छ । 

मन्त्रीपरिषद्को बिहीबारको बैठकले सहरी विकास मन्त्रालयको प्रस्तावमा क्रिकेट मैदानको गुरुयोजना स्वीकृत गर्दै आयोजनालाई राष्ट्रिय प्राथमिकता निर्धारण गरेको हो । गुरुयोजनाबमोजिम क्रिकेट मैदानका लागि करिब १० अर्ब लाग्ने अनुमान गरिएको छ । 

सहरी विकासमन्त्री कुलमान घिसिङले रङ्गशाला नेपालकै पहिलो अन्तर्राष्ट्रिय क्रिकेट मैदान भएको र अन्तर्राष्ट्रिय खेल तथा पर्यटन प्रवर्धनमा समेत यसको योगदान हुने छ, भन्नुभयो । घिसिङले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रूपमा जग्गासम्बन्धी सम्झौता, वातावरणीय प्रभाव मूल्याङ्कनलाई अन्तिम रूप दिने र गुरुयोजनाबमोजिम रङ्गशाला विस्तारका लागि दोस्रो चरणको निर्माणका लागि ‘टेन्डर प्रक्रिया’ अगाडि बढाउन मन्त्रीपरिषद्बाट स्वीकृति प्राप्त भएको बताउनुभयो ।      

मन्त्री घिसिङ एक हप्ताअघि रङ्गशालाको पहिलो चरणको निर्माणबारे स्थलगत निरीक्षणमा जानुभएको थियो । मन्त्री घिसिङ, सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देल, आयोजना प्रमुख चक्रवर्ती कण्ठसहितको टोलीले स्थलगत निरीक्षण गरी निर्माण व्यवसायी, नेपाल क्रिकेट सङ्घ (क्यान) का पदाधिकारीलगायतसँग छलफल गरेको थियो । 

हाल त्रिवि क्रिकेट रङ्गशालाको पहिलो चरणका संरचना निर्माणाधीन छन् । आगामी मङ्सिर १ गतेदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल) भन्दाअगावै रङ्गशाला निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ । त्रिवि क्रिकेट मैदानमा भने छ वटा फ्लड लाइट राखिने छ । प्यारापिट निर्माणपछि यसमा १० हजार दर्शक बसेर हेर्न सक्ने छन् । कीर्तिपुर मैदानमा पुनर्निर्माणको कार्य सम्पन्न भएपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालनमा आउने छ । क्यानले फ्लट लाइट्समै एनपिएलको दोस्रो संस्करण आयोजना गर्ने बताउँदै आएको छ ।

मन्त्री घिसिङले गुरुयोजनाबमोजिम भइरहेको निर्माण कार्यलाई राष्ट्रिय प्राथमिकतामा राखी बजेट अभाव हुन नदिने गरी रङ्गशाला विस्तारको दोस्रो चरण अगाडि बढाइने बताउनुभएको थियो । 

नेपालले क्रिकेटमा प्राप्त गरेको सफलता र यो आयोजना सँगसँगै अघि बढेको सरकारको भनाइ छ । नेपालले शुक्रबार ओमानमा भएको आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको उपाधि जितेको छ । सो प्रतियोगिता अन्तर्गत दुई खेलअघि नै नेपाल सन् २०२६ मा हुने विश्वकपमा पनि चयन भएको थियो ।