• १ कात्तिक २०८२, शनिबार

‘यात्रा ट्याटु प्रदर्शनी’ सुरु

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक १ गते । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र हिमालयन ट्याटु समिटको संयुक्त आयोजनामा शुक्रबारबाट ‘यात्रा ट्याटु प्रदर्शनी तथा कला कार्यशाला’ सुरु भएको छ । प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगङ्गा दर्शनधारी, प्राज्ञ सभा सदस्य सुन्दर सिंख्वाल र अग्रज कलाकार उदयचरण श्रेष्ठले संयुक्त रूपमा कार्यक्रमको उद्घाटन गर्नुभयो ।

कुलपति नारदमणि हार्तम्छालीले ट्याटु आर्टमा लोकपरम्पराको ज्ञान पनि समावेश भएको बताउनुभयो । उहाँले भन्नुभयो, “कलाका सबै आयाम समेट्ने अभियान अनुरूप यस कार्यक्रमको आयोजना गरिएको हो । यस्ता कलाका ‘कन्सेप्ट, कन्टेन्ट’ सामाजिक तथा प्राकृतिक पर्यावरणसँगै सांस्कृतिक मूल्यमान्यता पनि जोडेर नेपाली सांस्कृतिक भावधारा अनुसार समावेश गर्दै जान सके अझ बहुआयामिक रूपमा लान सकिन्छ ।”

सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले नेपालका विभिन्न रैथाने समुदायमा ट्याटु कला सदियौँदेखि नै प्रचलनमा रहेको बताउँदै प्रदर्शनीमा देश तथा विदेशका ट्याटु कला एउटै मञ्चमा हेर्न सकिने बताउनुभयो । उहाँले यस जीवन्त कलाको परम्परागत ज्ञानलाई संरक्षण तथा अभिलेखीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।

बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगङ्गा दर्शनधारीले ट्याटु कला पनि ललितकलाको एउटा उपविधा भएको र यस कलालाई समयानुकूल चिनाउन  पनि यस खालका कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।

हिमालयन ट्याटु समिटका निर्देशक बृजेश श्रेष्ठले प्रतिष्ठानसँगको सहकार्यमा यस कार्यक्रमको आयोजना गर्न पाउँदा निकै खुसी लागेको र आगामी दिनमा पनि यस कार्यक्रमलाई निरन्तरता दिने बताउँदै प्रदर्शनी र कार्यशालामा सहभागी सबै कलाकारप्रति आभार व्यक्त गर्नुभयो ।

प्रदर्शनीमा नेपाललगायत सिङ्गापुर, थाइल्यान्ड, भारत, भियतनाम, स्विट्जरल्यान्ड, ग्रिस, अमेरिका, मलेसिया र अस्ट्रियाका कलाकारका कलाकृति समावेश छन् । त्यस्तै कार्यशालामा क्यानभास, उडकट, मूर्तिकला, कार्टुन/क्यारिकेचर विधालाई समेटिएको छ । लालकाजी लामा, प्रदीप अधिकारी, दिनेश्वर महतोलगायतको सहभागिता रहेको थियो ।