• २१ असोज २०८२, मङ्गलबार

खोलाले बगाउँदा एकको मृत्यु

blog

जनार्जन खत्री

सर्लाही, असोज २१ गते । सर्लाहीको मलङ्गवा नगरपालिका–५, भाडसरमा मङ्गलबार दिउँसो लखन्देही खोलाले बगाएर एक युवकको मृत्यु भएको छ । 

सँगै नुहाउन गएका अन्य तीन युवक भने सकुशल बाहिर निस्कन सफल भएका छन् । भाडसरस्थित लखन्देही खोलाको बाँध नजिक चार जना युवक नुहाउन गएकोमा स्थानीय विनोद ठाकुरका छोरा १८ वर्षीय ओम ठाकुरलाई खोलाले बगाएर मृत्यु भएको हो । 

खोलाले बगाएर बेपत्ता ठाकुरलाई स्थानीय र सशस्त्र प्रहरीले खोजी गर्ने क्रममा दुई घण्टापछि मृत अवस्थामा बाहिर निकालेका छन् । मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा ल्याइएको छ । 

खोलाले बगाएकोमध्ये अन्य तीन जना भने पौडी खेलेर सकुशल बाहिर निस्कन सफल भएका र उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं डिएसपी सरोज राईले जानकारी दिनुभयो । यसैबिच सर्लाहीको पर्सा गाउँपालिका–१, स्थित हर्दी खोलामा सोमबार बिहान फेला परेको बेवारिसे शवको अझै सनाखत हुन सकेको छैन् । 

खोलामा पानी घटेको बेला अन्दाजी ३०-३५ वर्षीया महिलाको शव फेला परेको थियो । मृतक महिलाको शव प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको र अहिलेसम्म कोही खोजी गर्न नआएका डिएसपी राईले बताउनुभयो ।