• १८ असोज २०८२, शनिबार

देशभर असोज १९ र २० गते सार्वजनिक बिदा

blog

काठमाडौँ, असोज १८ गते ।  जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त सूचनाअनुसार असोज १८ देखि २० गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको हुँदा नेपाल सरकारले असोज १९ र २० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालयले शनिबार जारी गरेको सूचनामा हाल देशका विभिन्न भागमा वर्षा भइरहेको र आगामी दुई दिन अझै ठूलो मात्रामा वर्षा हुन सक्ने पूर्वानुमान भएकाले विपद् जोखिम न्यूनीकरणका दृष्टिले सावधानी अपनाउन अनुरोध गरिएको छ।

वर्षाका कारण वाढी, डुवान, भू–क्षयलगायतका जोखिम बढ्न सक्ने, साथै सडक र हवाई यातायात प्रभावित हुने सम्भावना रहेको सूचनामा उल्लेख छ। 


सम्भावित मानवीय क्षतिलाई ध्यानमा राख्दै विपद् व्यवस्थापन र अत्यावश्यक सेवासँग सम्बन्धित कार्यालयहरूबाहेक देशभर सार्वजनिक बिदा दिइएको मन्त्रालयले जनाएको छ।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले जारी गरेको सूचनामा भनिएको छ— “उक्त अवधिभर अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कनुहुन र सुरक्षित स्थानमा रहन सबै नागरिकसँग हार्दिक अनुरोध गरिन्छ।”

यसअघि मौसम विभागले असोज १८ देखि २० गतेसम्म पश्चिम र मध्य तराई, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा अति भारी वर्षा हुने सम्भावना औंल्याएको थियो। विभागले नदी किनार, पहाडी भू–भाग र जोखिमयुक्त स्थानमा सतर्कता अपनाउन आग्रह गरेको छ।