• १७ असोज २०८२, शुक्रबार

लमजुङ–मनाङ सडकमा राति यातायात सञ्चालन रोक

blog

बेंसीसहर–चामे सडक । तस्बिरः नवीनराज कुइँकेल

नवीनराज कुइँकेल

लमजुङ, असोज १७ गते । असोज १७ गतेदेखि २० गतेसम्म ठुलो बर्षा हुने सूचना जारी भएपछि लमजुङदेखि मनाङसम्मको यातायात रातिको समयमा सञ्चालनमा रोक लगाइएको छ । 

ठूलो बर्षा भएमा जोखिम बढ्ने भन्दै जिल्ला प्रशासन कार्यालय मनाङले रातको समयमा यातायात सञ्चालनमा रोक लगाएको हो । जिल्ला प्रशासन कार्यालय, मनाङले सूचना जारी गर्दै सम्भावित बाढी, पहिरो र भू–स्खलनको जोखिमलाई मध्यनजर गर्दै यातायात व्यवस्थापनमा कडाइ गरिएको जनाएको छ । 

निश्चित समयमा मात्र सवारी सञ्चालन गर्न पाइने र तोकिएको समय बाहिर आवागमन गर्न नपाइने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी नवराज पौडेलद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।

प्रशासनद्वारा जारी सूचनाअनुसार बेलुका साढे ६ बजेदेखि विहान ७ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको छ । प्रशासनले नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय तहका उद्धार टोलीलाई सतर्क अवस्थामा राखिएको र तत्काल परिचालन गर्नेगरी आवश्यक व्यवस्था मिलाउन जिल्ला सुरक्षा समितिको बैठकबाट निर्णय गरिएको छ । 

सम्भावित विपद् व्यवस्थापनका लागि सबै स्थानीय तह र स्थानीय विपद् व्यवस्थापन समिति, सरकारी निकाय, नीजि क्षेत्र र गैह्र सरकारी संस्थाहरुले स्वीकृत मनसुन कार्य योजनाअनुरुप आवश्यक पूर्व तयारी र प्रतिकार्यका लागि आ–आफ्नो विषयमा क्षेत्रगत तयारीमा रहन प्रशासनले अनुरोध गरेको छ ।

सम्भावित वर्षाको कारणले भूक्षय, बाढी, पहिरोको जोखिम रहेकाले मस्र्याङदी, नारखोला, दुधखोला, डोनाखोला तथा ठाडाखोला लगायत स्थानीय खोलाहरूमा पानीको सतह बढ्ने, बाढी पहिरो गई आसपासका क्षेत्रहरूमा जोखिम हुन सक्ने भएकाले अत्यावश्यक अवस्थामा बाहेक यात्रा नगर्न, बेशिशहर चामे खाङ्सार सडकलगायत स्थानीय ग्रामीण सडकहरूमा सवारीसाधन चलाउँदा आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन ट्राफिक प्रहरी र सुरक्षा निकायको निर्देशनको पालना गर्न सर्वसाधारण लगायत सबै सरोकारवाला निकायहरूमा अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी नवराज पौडेलले जानकारी दिनुभयो ।