भादगाउँ (भक्तपुर), असोज १७ गते । यहाँको मध्यपुर थिमि–७ नगदेशमा बिहीबार राति ‘खाँ पिहाँ वइगु’ जात्रा सम्पन्न भएको छ । प्रत्येक वर्ष मोहनी नखःको चालँ अर्थात् बडादसैँको दशौँ दिन विजयदशमीको राति नगदेशको दरबार लाय्कुबाट ‘खाँ पिहाँ वइगु’ जात्रा निकाल्ने परम्पराअनुसार बिहीबार राति जात्रा निकालिएको हो ।
नगदेशमा रहेको मल्लकालीन दरबारबाट खाँ निकालिएको हो । यो जात्राको अन्त्यमा नगदेशस्थित सिद्धिगणेशको प्राङ्गणमा ‘भुइँफर्सी’ अर्थात् ‘कुभिण्डो’ मार हान्ने भएकाले यसलाई ‘भुइँफर्सी पालेगु’ जात्रा पनि भनिन्छ ।
दरबारबाट पमा नायो (प्रधान नाइके)को नेतृत्वमा मल्लकालीन सिपाहीको भेषमा जात्रालुहरू टाउकोमा फलामे टोपी, हातमा तरबार, खुँडा र ढाल बोकेर निस्केका थिए । ती सिपाहीले युद्ध कौशल पनि प्रदर्शन गरेका थिए ।
सिद्धिगणेश मन्दिर परिसरमा मार हानेको कुभिण्डो प्रसादको रुपमा घरघरमा लाने प्रचलन रहेको छ ।
जात्रा सञ्चालनका लागि यस वर्ष मध्यपुरथिमि नगरपालिकाले ढाल, टोपीलगायतका सामग्री सहयोग गरेको थियो । जात्रामा नगरप्रमुख सुरेन्द्र श्रेष्ठलगायत जनप्रतिनिधिले पनि सक्रिय सहभागिता जनाएका थिए । रासस