• १७ असोज २०८२, शुक्रबार

कालोपत्रे नहुँदा अदालतचौपारी–रायडाँडा सडक जिर्ण

blog

ठेकेदारको लापरवाहीले जिर्ण रहेको सडक खण्ड । तस्बिरः रामकृष्ण बोहरा

रामकृष्ण बोहरा

बागलुङ, असोज १७ गते । सम्झौता भएको दुइ बर्ष पुग्नै लाग्यो । २०८० चैत १६ गते सम्झौता गरेर दुई वर्षमा कालोपत्रे गरिसक्ने लक्ष्य राखेको सडक अहिले पनि जिर्ण छ ।

ट्रयाक खुलेको २२ बर्षसम्म त अदालतचौपारीदेखि गौडाकोट, तित्याङ हुतित्याङ हुँदै रायडाँडा जाने सडकमा पूर्वाधारको काम समेत भएन । अहिलेको ठेक्का सम्झौताको म्याद सकिंन लाग्दा पनि कामले गति नलिएको स्थानीयले बताएका छन् ।

यसअघिका विभिन्न ठेक्का तथा सम्झौतामा काम अलपत्र परेकोमा शुरुवाती काम राम्रो देखिएको थियो । काम थालेको ६ महिनादेखि नै ठेकेदारले आलटाल गर्न थालेपछि अहिले फेरि अधिकांश खण्डको काम अलपत्र परेको हो । 

काम सन्तोषजनक नभएपछि स्थानीयले नगरपालिका र वडामा पटक पटक चासो राख्न थालेका छन् । तर पूर्वाधार बिकास कार्यालयमार्फत भएकाले नगरपालिकाले पनि यथार्थ जानकारी दिन नसकेको इन्जिनियर दिपेन्द्र भण्डारीले बताउनुभयो । कुल १५ किमी सडक कालोपत्रे गर्ने लक्ष्य राखेको बिडारी निर्माण सेवाले काम अलपत्र छाड्दा अहिले पनि तित्याङ, भकुण्डे हुँदै रायडाँडा जाने सडकमा अझै जोखिम छ ।

बागलुङ बजारदेखि २० किमी दूरीमा रहेको रायडाँडा जाने सडक स्तरीय नबन्दा हरेक बर्ष यात्रीले सास्ती खेप्दैआएका छन् । रायडाँडाालई बिशेषक्षेत्रमा राखिए पनि सडक पूर्वाधार अभावले अन्य सेवा सुविधा ओझेलमा परेको बानपा वडा नंं. ११ का अध्यक्ष ज्ञानेन्द्र गौतमले बताउनुभयो । 

‘‘अन्य धेरै काम राम्रा भएका छन्, तर जाने सडकको शुरुवाती नै अप्ठ्यारो भएपछि सबैको गाली खानु पर्छ’’ गौतमले भन्नुभयो । तित्याङतर्फको सडकको केही स्थानमा ग्याबिन बुन्ने र पर्खाल लगाउने काम भए पनि अझै हिलाम्मे छ । बागलुङ नगरपालिका –३ को गौंडाकोटमा पनि बाटो स्तरीय बनेको छैन । २०६० सालमा स्थानीयले चन्दा संकलन गरेर बनाएको यो सडक स्तरीय नभएपछि हरेक बर्ष घर जान समस्या भोगिएको स्थानीय रोमबहादुर थापाको गुनासो छ । 

निर्माण व्यवसायीले १५ किमी खण्ड कालोपत्रे गर्न पूर्वाधार बिकास मन्त्रालय गण्डकी प्रदेशबाट ३१ करोड ९६ लाख रुपियाँको सम्झौता गरेका थिए । सुरुवातमा तोकेकै समयमा काम सक्ने बताएका ठेकेदार कम्पनीका प्रतिनिधि सम्पर्कबाहिर छन् । नगरपालिकाले पटक पटक ताकेता गरेर पनि काममा आएका छैनन् । 

‘‘मोटरसाइकलमा जान नसकिने बाटो छ, जिप लिएर पनि हैरानी खेप्नुपर्छ, पर्यटक लैजाने काम निकै चुनौती छ’’ होटल व्यवसायी हिमाल शर्माले भन्नुभयो, ‘‘भकुण्डे जाने भनेपछि गाडी पठाउन धेरै पटक सोच्नुपर्छ ।’’ एकसय किमी पर पठाउने भाडाभन्दा १५ किमीको भकुण्डे जाने गाडीले रिर्जभ गर्दा धेरै भाडा लिने गरेको समेत यात्रीले गुनासो गरेका छन् ।