• १७ असोज २०८२, शुक्रबार

चार दिन पदयात्रामा नजान कास्की प्रशासनको आग्रह

blog

फाइल तस्बिर

फडिन्द्र अधिकारी

लेखनाथ, असोज १६ गते । जिल्ला प्रशासन कार्यालय कास्कीले असोज १७ गतेदेखि २० गतेसम्म कास्कीबाट हुने कुनै पनि पदयात्रामा ननिस्किन आग्रह गरेको छ । 

बिहीबार साँझ सूचना जारी गरी प्रशासनले शुक्रबारदेखि सोमबारसम्म उच्च हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना भएकाले अन्नपूर्ण हिमाल, मर्दी हिमाल लगायतका कुनै पनि स्थानमा पदयात्रामा नकिस्कन आग्रह गरेको हो । 


देशका विभिन्न स्थानमा अत्यधिक वर्षा, बाढी, पहिरो र डुबानको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार उक्त अवधिमा विशेष गरी गण्डकी प्रदेशका स्थानहरूमा ठूलो वर्षा हुने भएकाले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिनुभयो ।


जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा घरबाहिर अनावश्यक आवतजावत नगर्न, सम्भावित जोखिमयुक्त स्थानमा नजान, नदी तथा खोला किनारबाट टाढा रहन र सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ । साथै, आकस्मिक अवस्थामा उद्धार र सहयोगका लागि गृह मन्त्रालय, जिल्ला प्रशासन, सुरक्षाकर्मी तथा सम्बन्धित निकायसँग तत्काल सम्पर्क गर्न भनिएको छ । 


जिल्ला प्रशासनले सम्भावित जोखिम क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा बस्न र वर्षा अवधिभर उच्च सतर्कता अपनाउन अपील गरेको छ । सो अवधिमा अत्यन्त जरुरी काम नभई घरबाट टाढा नजान र रातको समयमा यात्रा नगर्न आग्रह गरिएको छ । प्रशासनले जोखिमयुक्त स्थानका बासिन्दालाई थप सहज रहन भनेको छ । सूचनामा भनिएको छ, “जोखिमयुक्त क्षेत्रका बासिन्दाहरुले आपतकालीन अवस्थामा उपयोग गर्नका लागि आवश्यक पर्ने सामग्री, औषधी, महत्वपूर्ण कागजात तथा धनमालसहितको झटपट झोला तयार गरी राख्नुहुन ।”


सम्भावित विपतलाई मध्यनजर गर्दै सरकारी र निजी क्षेत्रका हेभी एक्युप्मेन्टहरुलाई तयारी अवस्थामा राख्नसमेत प्रशासनले निर्देशन दिएको छ । 


ग्रामीण क्षेत्रमा चल्ने सवारीहरुलाई १७ गतेदेखि अर्काे व्यवस्था नभएसम्मका लागि ४ बजे प्रस्थानविन्दुबाट छुटिसक्ने व्यवस्था मिलाउन आग्रह गरिएको छ ।