• १७ असोज २०८२, शुक्रबार

विपद् व्यवस्थापन प्रभावकारी बनाउन गृहमन्त्रीको निर्देशन

blog

गृहमन्त्री ओमप्रकाश अर्याल । फाइल तस्बिर

काठमाडौँ, असोज १६ गते । गृहमन्त्री ओमप्रकाश अर्यालले देशको परिस्थितिमा परिवर्तन आएको, देशको राष्ट्रिय सुरक्षा समेत संवेदनशील रहेको सन्दर्भमा विपद् व्यवस्थापनलाई प्रभावकारी बनाई नागरिकसँगको सम्बन्ध उच्च बनाउन निर्देशन दिनुभएको छ ।

असोज १७ गतेदेखि असोज २० गतेसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मध्यमदेखि अति भारी वर्षाको सम्भावना रहेको पूर्वानुमानका पृष्ठभूमिमा आज यहाँ आयोजित मनसुनसम्बन्धी विपद् संवाद भर्चुअल बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले उक्त निर्देशन दिनुभएको हो । उहाँले विपद् व्यवस्थापन गर्दा सुशासन र सेवा प्रवाह अटुट रहने कुरामा ध्यान दिनुपर्ने बताउनुभयो । 

सम्भावित विपद्लाई मध्यनजर गरी गृहमन्त्री अर्यालको समुपस्थितिमा गृहसचिव रामेश्वर दंगालसहित गृह मन्त्रालय एवं राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारीहरुको सहभागितामा आज बैठक सम्पन्न भएको हो । 

चारवटै सुरक्षा निकायका प्रमुख एवं विपद् फोकल पर्सन, ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समितिका सदस्यहरुको उपस्थितिमा भर्चुअल बैठक आयोजना गरिएको हो । रासस