सिराज खान
नेपालगन्ज, असोज १६ गते । धार्मिक र सामाजिक सद्भावको शहरको रुपमा परिचित नेपालगन्जमा यस वर्षको बडा दसैं पनि आपसी एकता र धार्मिक सहिष्णुताको प्रतीक बनेको छ। बिहीबारको शुभसाइतमा मुस्लिम समुदायका अगुवाहरूले हिन्दु समुदायका मान्यजनबाट टीका–जमरा ग्रहण गर्दै दसैं मनाउनु भएको छ ।
धार्मिक सद्भाव र सहअस्तित्वलाई निरन्तरता दिने परम्पराअनुसार मुस्लिम अगुवाहरूले हिन्दु चाडपर्वमा सामेल हुँदै आशीर्वाद लिनुभएको हो । नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य तथा मुस्लिम अगुवा अब्दुल वाहिद मन्सुरीले हिन्दु समुदायका ज्येष्ठ व्यक्तिबाट टीका–जमरा थाप्दै यो परम्परा केवल पर्वको सीमामा नभई आपसी सम्बन्ध र भाइचाराको अभूतपूर्व उदाहरण भएको बताउनुभयो। उहाँले दसैं, ईद, तिहार, बकराईद, होली र मोहम्मद डे, रक्षाबन्धन, दीपावलीजस्ता चाडपर्व सधैँ मिलेर मनाउने चलन रहँदैआएको उल्लेख गर्नुभयो ।
यस्तै, वरिष्ठ समाजसेवी प्रवेजअलि सिद्दिकीले पनि आफन्त र मान्यजनबाट टीका थाप्दै सानालाई टीका लगाइदिनुभएको छ। उहाँले दुवै समुदायबिच वर्षौँदेखि रहेको आत्मीय सम्बन्धले नेपालगन्जलाई सामाजिक सद्भावको नमूना शहर बनाएको बताउनुभयो।
सोही अवसरमा मुस्लिम अगुवा राज खान र साकिर खानले पनि टीका–जमरा थाप्दै आशीर्वाद ग्रहण गर्नुभयो । सामाजिक अगुवा नमस्कार शाहले नेपालगन्जमा एक–अर्काका पर्वमा सहभागिता जनाउने परम्परा प्रशंसनीय भएको उल्लेख गर्दै, कहिलेकाहीँ बाहिरी प्रभावका कारण वातावरण धुम्मिने भए पनि दुवै समुदायले मिलेर फेरि सौहार्दपूर्ण बनाउने गरेको बताउनुभयो ।