सिराज खान
नेपालगन्ज, असोज १५ गते। विगतका वर्षझैँ यस पटक पनि दसैँको बेला नेपालगन्ज बजारमा खासै व्यापार व्यवसाय नचलेको व्यवसायीले बताएका छन्।
बाहिरबाट दसैँ मनाउन आउने बढेसँगै बजारमा मानिसको भीड र चहलपहल बढे पनि व्यापार व्यवसाय भने नबढेको उनीहरुको गुनासो छ। तर, सीमापारी रूपैडिहा बजारमा भने किनमेल गर्न दैनिक सयौंको संख्यामा नेपाली गएको पाइएको छ।
दसैँ सुरु हुनुभन्दा पहिलेदेखि नै सीमापारी गएर किनमेल गर्नेहरू बढेका थिए। रुपैडिहाका अधिकांश पसल नेपाली उपभोक्ताले भरिभराउ छन्। बजारभर जताततै नेपाली उपभोक्ता नै देख्न सकिन्छ। अन्य समयमा पनि नेपाली उपभोक्ताले भरिने रुपैडिहामा चाडपर्वको बेला त थामिनसक्नु भीड देखिएको छ।
स्थानीय बजारको व्यापार अझैसम्म बढ्न नसक्नु निकै दुखद भएको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अब्दुल वाहीद मन्सुरीले बताउनुभयो।
उहाँले सीमापारि जाने अधिकांशले राजस्व छलेर सामान ल्याउने गरेको जनाउँदै सोही कारणले यताको व्यापार सुक्दै गएको बताउनुभयो।