• १७ असोज २०८२, शुक्रबार

राष्ट्रिय एकता र समृद्धितर्फ अगाडि बढ्न आह्वान

blog

लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगर

पुरुषोत्तम सुबेदी

पश्चिम नवलपरासी,  असोज १६ गते  ।  लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरले नेपाली नागरिकलाई राष्ट्रिय एकता र समृद्धिको बाटोमा अगाडि बढ्न आह्वान गर्नुभएको छ। 

विजया दशमी, शुभ दीपावली तथा छठ पर्वसहित २०८२ सालको पावन अवसरमा सम्पूर्ण प्रदेशवासी तथा देश विदेशमा रहेका नेपालीहरूमा शुभकामना सन्देशमा सो विचार व्यक्त गर्नुभएको छ।

शुभकामना सन्देशमा यी चाडपर्वहरू नेपाली समाजको मौलिक, धार्मिक, सांस्कृतिक, जातीय र आर्थिक जीवनमाथि महत्वपूर्ण योगदान पुर्‍याउने कडीको रुपमा रहेको उल्लेख  छ ।

सभामुख घर्ती मगरले वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्र लाखौँको बलिदान र त्यागबाट प्राप्त भएको ऐतिहासिक उपलब्धि भएको बताउँदै यसको संरक्षण, संवर्द्धन र राष्ट्रिय लक्ष्यहरू हासिल गर्न सबैलाई एकताबद्ध हुन आह्वान गर्नुभएको छ।

सन्देशमा भनिएको छ, ‘‘हाम्रो बहुलभाषी, बहुसांस्कृतिक समाजमा लोकतन्त्र, विधिको शासन, सामाजिक न्याय, र पूर्ण प्रेस स्वतन्त्रता जस्ता राष्ट्रिय लक्ष्यहरू प्राप्त गर्न सबैले आ–आफ्नो ठाउँबाट योगदान पुर्‍याउनु आवश्यक छ।’’

लुम्बिनी प्रदेशलाई धर्म, संस्कृति र सभ्यताको उद्गमस्थलको रूपमा व्याख्या गर्दै सभामुख घर्ती मगरले चाडपर्वहरूले हामीलाई परम्परागत रीतिरिवाजको संरक्षण, मौलिक जीवनशैलीको जगेर्ना गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भएको छ । 

 उहाँले अस्वस्थ व्यवहार, अन्धविश्वास र विकृतिको नियन्त्रण गरी स्वस्थ जीवनशैली अपनाउन प्रेरित गरेको विश्वास व्यक्त गर्नुभएको छ।

सभामुख घर्ती मगरले सम्पूर्ण प्रदेशवासीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि, र उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ।