काठमाडौं, असोज १४ गते । जीवितदेवी कुमारी चयन भएसँगै नवनियुक्त कुमारीलाई आज अष्टमीको दिनको शुभ साइतमा कुमारी घर प्रवेश गराइ आसनमा विराजमान गराइएको छ । इतुम्बहालका आर्यतारा शाक्य कुमारीको रुपमा उहाँ चयन हुनुभएको हो ।
बिहान ढल्को अवस्थित उहाँको निवासमा बाजागाजाका साथ हनुमानढोकासम्म ल्याइ विधिवत पूजाआजा गरी कुमारी घरमा प्रवेश गराइएको हो । नव कुमारीको आगमनसँगै पूर्व कुमारीलाई सम्मानका साथ विदाइ गरिएको हो । कुमारीघरबाट विधिवत रुपमा उहाँको निवाससम्म पुर्याउन गएको हो । आसनमा आशितकुमारी परिपक्व हुनुभन्दा अगाडि नै कुमारी परिवर्तन परम्परा रहिआएकोलाई अनुसरण गरी आजको शुभसाइत कुमारी परिवर्तन भएको चिताइदार गौतम शाक्यले बताउनुभयो ।
तत्कालीन राजा जयप्रकाश मल्लले कुमारीलाई स्थापना गरेको बताइन्छ। कुमारी छनोटको विधिअनुसार गुठी संस्थान, पञ्चाङ्ग निर्णायक समिति र सरोकार भएका पक्षसँगको सल्लाह तथा परामर्शपछि आर्यतारालाई नयाँकुमारी छनोट गरिएको थियो । कुमारी छनोटका क्रममा सरोकार भएका सबै बहालहरूलाई नाम सिफारिस गर्न पत्राचार गरिएको थियो।