काठमाडौँ, असोज १४ गते । लगातारको वर्षाका कारण पृथ्वी राजमार्गको मुग्लिङ क्षेत्र र बिपी राजगमार्गसहित अन्य मार्गमा यातायात सहज नहुँदा गत वर्षको तुलनामा यो वर्ष खसीबोकाको भाउ केही बढी भए पनि किनबेचमा असर परेको छैन । मुलुकका धेरैतिर पहिरोका कारण बाटोको समस्या र यात्रुवाहक बसमा ढुवानी गर्न नपाइने व्यवस्थाका कारण बेग्लै ट्रकमा हालेर ल्याउँदा खसीबोकाको भाउ गत वर्षभन्दा केही बढेको व्यवसायीले बताएका छन् ।
गत वर्षको तुलनामा यस वर्ष प्रतिकिलो करिब २५ रुपियाँका दरले भाउ बढेको व्यवसायी बताउँछन् । गत वर्ष जिउँदो खसी प्रतिकिलो सात सयदेखि ७२५ रुपियाँसम्म बिव्रmी भएकामा यस वर्ष ७५० रुपियाँमा बिव्रmी भएको पाइएको छ । किसानले मूल्यवृद्धिको लाभ पाएका छन् । किसानका गोठबाट व्यापारीले प्रतिकिलो ६१० रुपियाँले बेचेका छन् ।
काठमाडौँको टुकुचाका साथै कलङ्की, दहचोक, कालीमाटी, लोकन्थली, सल्लाघारी, चाबहिललगायत क्षेत्रका तोकिएका स्थानमा दसैँका लागि खसीबोका किनबेच गरिन्छ । आज नवरात्रिको सातौँ दिन फूलपातीका अवसरमा यी क्षेत्रमा धमाधम खसी किन्ने र मोलतोल गर्नेको भिड देखिन्छ । “अहिले बसको डिकीमा खसीबोका हाल्न दिइँदैन । ट्रकमा हालेर ल्याउँदा केही महँगो परेको छ । यसको लाभ किसानले पनि पाएका छन् । दसैँमा काठमाडौँको बजारलाई चाहिनेजति खसीबोकाको व्यवस्थापन हामीले मिलाउने कोसिस गरिरहेका छौँ,” काठमाडौँको टुकुचास्थित पशुचौपाया खरिदबिव्रmी सङ्घका अध्यक्ष सन्तोषबहादुर खत्रीले भन्नुभयो, “लगातारको वर्षा र ठाउँ ठाउँमा पहिरो र अवरोधका कारण हामीलाई असुविधा भने परिरहेको छ ।”
काठमाडौँमा दसैँका अवसरमा बर्सेनि सिन्धुली, रामेछाप, ओखलढुङ्गा, खोटाङ, उदयपुर, इलाम, रोल्पा, रुकुमबाट खसीबोका ल्याइने गरेको छ । भेडाच्याङ्ग्रा भने गोरखा, मनाङ, मुस्ताङलगायत जिल्लाबाट ल्याइन्छ । दसैँलाई लक्ष्य गरी टुकुचाको खसीबजारमा हालसम्म करिब नौ हजार खसीबोका ल्याइसकिएको छ । टुकुचा बजारमा खरिदबिव्रmीका लागि अहिले एक हजारभन्दा बढी खसीबोका राखिएका छन् । यस वर्ष ज्युँदो च्याङ्ग्रा भने प्रतिकिलो एक हजार २५० मा बिक्री भइरहेको छ ।
मासुका लागि खोटाङ, सिन्धुली, उदयपुरको खसी राम्रो मानिन्छ । अहिले बजारमा ९० किलोसम्मका खसी आएको रेकर्ड छ । मासुका लागि तराईको तुलनामा पहाडको खसी राम्रो मानिन्छ । अझ लेकमा चरेको खसी बढी गुणस्तरीय हुने गर्छ । अहिले दाना नखुवाएका चरनका खसीबोका उपभोक्ताको रोजाइमा पर्दै आएका छन् । टुकुचा बजारमा खसीको स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको, स्वस्थ खसीलाई हरियो र बिरामी खसीलाई रातो रङ लगाइएको छ ।