• ११ असोज २०८२, शनिबार

गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष सुवेदीको बिदाइ

blog

संस्थानमा आयोजित कार्यक्रममा कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीलाई बिदाइ गर्नुहुँदै संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीसहित । तस्बिर : मनोजरत्न शाही

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज १० गते । गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी आफ्नो कार्यकाल सम्पन्न गरी शुक्रबारदेखि संस्थानबाट बिदा हुनुभएको छ । २०७८ साल असोज ११ गते गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा नियुक्त हुनुभएका सुवेदी चार वर्षको कार्यकाल सकेर शुक्रबार बिदा हुनुभएको हो । 

संस्थानले शुक्रबार कार्यक्रमको आयोजना गर्दै उहाँलाई बिदाइ गरेको छ । बिदाइ कार्यक्रममा उहाँले गोरखापत्रजस्तो ऐतिहासिक गौरव बोकेको संस्थानमा काम गर्न पाउनु आफ्नो जीवनका लागि पनि गौरवको विषय भएको बताउनुभयो । आफ्ना कमिकमजोरी सहेर पनि काममा सहयोग र सहकार्य गर्ने गोरखापत्रका सबै पत्रकार तथा कर्मचारीप्रति उहाँले आभार व्यक्त गर्नुभयो । 

संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले कार्यकारी अध्यक्ष सुवेदीसँगको सहकार्य संस्थानको संस्थागत विकासमा केन्द्रित रहेको औँल्याउनुभयो । गर्न खोजिएका कतिपय कुराको बाँकी जिम्मेवारी आफूहरुको काँधमा आएकाले त्यो पनि मिलेर पूरा गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । 

गोरखापत्र संस्थानको सञ्चालक समिति सदस्य रहनु भएका गोरखापत्र अनलाइनका निमित्त सम्पादक लोकबहादुर चौधरी ‘लक्की’ ले गोरखापत्रको डिजिटल अर्काइभिङ र अनलाइनलाई सबल बनाउन अध्यक्ष सुवेदीको भूमिका सराहनीय रहेको औँल्याउनुभयो । 'चार वर्षे कार्यकालमा गोरखापत्र संस्थानमा कार्यरत रहेका कर्मचारी तथा पत्रकारको वृत्ति विकास हुन सकेको भए अझ कार्यकाल उपलब्धिपूर्ण भएको मूल्याङ्कन हुन्थ्यो', उहाँले भन्नुभयो । 

गोरखापत्र दैनिकका निमित्त प्रधानसम्पादक जुनारबाबु बस्नेतले गोरखापत्र संस्थानमा काम गर्दा गोरखापत्र दैनिकको प्रकाशनलाई समाजमा देखिने गरी परिवर्तन गर्नसक्नु उहाँको योगदान भएको भन्दै प्रशंसा गर्नुभयो ।

द राइजिङ नेपालका निमित्त प्रबन्ध सम्पादक रमेशकुमार लम्सालले सहज व्यवहारसँगै अध्यक्ष सुवेदीको अहस्तक्षेपकारी भूमिकाको चर्चा गर्नुभयो ।  त्यस्तैगरी, गोरखापत्र दैनिकका प्रबन्ध सम्पादक रामप्रसाद आचार्यले सबैसँग घुलमिल भएर अघि बढ्न सक्ने स्वभावकै कारण संस्थानको भूमिका निर्वाह गर्न सहज बनाएको प्रष्ट्याउनुभयो । मधुपर्क मासिकका सम्पादक त्रिभुवनचन्द्र वाग्लेले सबै प्रकाशनलाई उत्तिकै महत्त्व दिएर अघि बढाउनु भएकोमा धन्यवाद ज्ञापन गर्नुभयो । 

गोरखापत्र संस्थानका डिजिटल संयोजक नारदमुनि गौतमले हरेक कुरालाई सहजरुपमा लिएर समस्या समाधान गर्न तत्पर हुने सीप अनुकरणीय रहेको स्मरण गर्नुभयो । संस्थानका उत्पादन विभागका निमित्त निर्देशक ओमप्रकाश भुषालले संस्थानमा परिवर्तनकारी रुपान्तरण गर्न सघाउनु भएको स्मरण गर्नुभयो । 

संस्थानको प्रशासन विभाग प्रमुख रेखादेवी श्रेष्ठले जस्तोसुकै विषम परिस्थितिमा पनि नरिसाइकन काम गर्ने क्षमताले अन्य कर्मचारीलाई सहज बनाएको बताउनुभयो । 

अर्थ विभाग प्रमुख राजुकुमार महतले प्रशासन र सम्पादकीय दुबै निकायमा समतामूलक रुपमा काम गर्दै संस्थानको वातावरणलाई सहजीकरण गर्दै अघि बढ्दै संस्थानको नीति निर्माणमा समन्वयकारी भूमिका निर्वाह गर्नुभएको चर्चा गर्नुभयो । 

बिदाइ कार्यक्रममा विभिन्न विभाग तथा शाखाका प्रमुखले कार्यकारी अध्यक्ष सुवेदीकाे सहयोगी  भूमिकाको सराहना गर्दै उहाँको सुखद भविष्यको कामना गर्नुभयो ।