• १३ असोज २०८१, आइतबार

मूल्य बढ्दा पनि घटेन पेट्रोलियमको माग

blog

काठमाडौँ, असार १५ गते  । पेट्रोलियम पदार्थको मूल्य लगातार बढे पनि स्थानीय बजारमा माग भने घटेको छैन । मूल्य बढ्दा माग घट्ने अपेक्षा गरिए पनि पेट्रोलियम पदार्थको खपत वार्षिक रूपमा १० प्रतिशतले वृद्धि भएको तथ्याङ्कले देखाउँछ । गत वर्षको तुलनामा सवारीसाधनको प्रयोग र बिक्री वितरण पनि बढ्दा पेट्रोलियमको मूल्य बढे पनि यसको खपत नघटेको हो । नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार पेट्रोल र डिजेलको खपत वार्षिक १० प्रतिशतका दरले बढेको छ । “मूल्य बढे पनि पेट्रोलियम पदार्थको खपत घटेको देखिँदैन,” उहाँले भन्नुभयो, यो वर्ष इन्धनको परिणाम र मूल्य दुवै बढेको छ । 

२०७८ असार ९ मा प्रतिलिटर १२७ रुपियाँ रहेको पेट्रोलको मूल्य बढेर २०७९ असार ५ मा आइपुग्दा हालसम्मकै उच्च प्रतिलिटर १९९ रुपियाँसम्म पुगेको थियो । गत वर्षको सोही समयमा ११० रुपियाँ प्रतिलिटर रहेको डिजेलको मूल्य असार ५ सम्म आइपुग्दा १९२ रुपियाँ पुगेको थियो । 

मूल्य वृद्धिको चौतर्फी विरोध भएपछि गत शनिबार कर कटौती गर्ने गरी सरकारले पेट्रोल लिटरमा २० रुपियाँ र डिजेलमा २९ रुपियाँ घटाइएको थियो । हाल बजारमा पेट्रोलको मूल्य प्रतिलिटर १७९ रुपियाँ र डिजेल प्रतिलिटर १६३ रुपियाँ कायम छ । एक वर्षकै अवधिमा डिजेल लिटरमा ८२ र पेट्रोल ७२ रुपियाँ मूल्य बढेको छ । 


बढ्दो सवारीसाधनको प्रयोग र विकास निर्माणको कामले गर्दा डिजेल पेट्रोलको खपत १० प्रतिशतले बढ्दै गएको नेपाल आयल निगमले जनाएको छ । यातायात व्यवस्था विभागका अनुसार मुलुकभर करिब ४० लाख सङ्ख्यामा सवारीसाधन रहेका छन् । निगमका अनुसार चालू आवको साउनदेखि जेठ महिनासम्म दुई खर्ब ८१ अर्ब ६१ करोड  रुपियाँ बराबरको २७ लाख ९२ हजार ४२७ किलोलिटर पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल, ग्यास हवाई इन्धन, ग्यास) आयात भएको छ । कुल आयातमा पेट्रोलियम पदार्थको आयात १६ प्रतिशत रहेको छ । गत आर्थिक वर्षभर एक खर्ब ५५ अर्ब रुपियाँ बराबरको २८ लाख किलोलिटर इन्धन आयात भएको थियो । यो वर्ष अन्तर्राष्ट्रिय बजारमै इन्धनको मूल्य बढेकाले झन्डै दोब्बर रकमको आयात भएको हो । 

चालू आवको ११ महिनामा सबैभन्दा धेरै डिजेल एक खर्ब ४५ अर्ब २१ करोड ९३ लाख ५० हजार रुपियाँ बराबरको १५ लाख २६ हजार २३२ किलोलिटर आयात भएको छ । यस्तै ६२ अर्ब ९१ करोड ९८ लाख ४६ हजार रुपियाँ बराबरको छ लाख ४७ हजार ११० किलोलिटर पेट्रोल आयात भएको छ । यस्तै सो अवधिमा ५९ अर्ब १६ करोड  ६४ लाख सात हजार रुपियाँ बराबरको चार लाख ६६ हजार  ९७१ मेट्रिक टन ग्यास आयात भएको निगमको तथ्याङक छ । यस्तै १४ अर्ब ३४ करोड ७८ लाख एक हजार रुपियाँ बराबरका एक हजार ९७० किलोलिटर मट्टितेल र १२ अर्ब ८८ करोड २८ लाख ११ हजार रुपियाँ बराबरको एक लाख ३७ हजार १४४ किलोलिटर हवाई इन्धन आयात भएको छ ।  

रुस र युक्रेनको युद्धका कारणले विश्वभर पेट्रोलियम पदार्थको मूल्य बढेकाले त्यसको प्रभाव स्थानीय बजारमा परको हो । इन्धनको मूल्य लगातार बढ्दै गएकाले सरकारले गत जेठ एक महिना दुई दिन सार्वजनिक बिदासमेत दिएको थियो । सो अवधिमा ११ प्रतिशत इन्धन खपत कम भएको थियो ।

विद्युतीय सवारीमा जोड

व्यापार विज्ञ रविशङ्कर सैँजुले पेट्रोलियम पदार्थको आयात कम गर्न विद्युतीय सवारीसाधनमा जोड दिनुपर्ने बताउनुहुन्छ । “कुल आयातमा पेट्रोलियम पदार्थको १६ प्रतिशत रहेकाले यसले व्यापार घाटासमेत बढाएको छ,” उहाँले भन्नुभयो । मुलुुकमा उत्पादन नहुने भएकाले आयातको विकल्प नभएकाले बिजुलीको प्रयोग बढाएर आयातलाई कम गर्न सकिने उहाँको सुझाव छ । विद्युतीय सवारीसाधनमा भन्सार घटाउनुका साथै ठूला–ठूला सार्वजनिक बस सञ्चालन गरेर इन्धनको खपत कम गर्न सकिने उहाँले जानकारी दिनुभयो । 

ऊर्जा विज्ञ अमृतमान नकर्मीले बिजुलीको प्रयोग बढाएर इन्धनको आयात कम गर्नुपर्ने बताउनुुभयो । सरकारले बजेटमार्फत ‘विद्युतीय प्रयोग गरौँ, एलपी ग्यास छोडौँ, बिजुली जौडौँ’ भन्ने अभियान सञ्चालन गर्ने घोषणा गरेको छ । बजेटमा खाना पकाउने इन्धनका रूपमा प्रयोग हुने दाउरा, गुइँठा र एलपी ग्यासलाई प्रतिस्थापन गर्न बायोग्यास, विद्युतीय चुलोलाई जोड दिएको छ ।  


Author

लक्ष्मी सापकोटा