• २ पुस २०८२, बुधबार

सडक पुगेपछि खच्चड व्यवसाय सङ्कटमा

blog

सडक सञ्जाल पुगेपछि कामविहीन बनेका खच्चड ।तस्बिर : नन्द सिंह

रलिङ समाचारदाता

रलिङ (हुम्ला), असोज ६ गते । हुम्लामा सडक सञ्जाल विस्तार भएपछि खच्चड व्यवसाय धरापमा परेको छ । विगतमा यातायातको प्रमुख साधनका रूपमा खच्चड प्रयोग गरिँदै आएको थियो । दुर्गम गाउँघरदेखि जिल्ला सदरमुकाम सिमकोटसम्म नुन, चामल, तेल, खाद्यान्नदेखि लत्ताकपडा र दैनिक घरायसी उपभोग्य सामग्री खच्चडकै सहारामा ढुवानी गरेर गाउँ गाउँसम्म पु-याउन खच्चड प्रयोग हुन्थ्यो । पछिल्लो समय भने खच्चड व्यवसाय धरापमा पर्न थालेको खार्पुनाथ गाउँपालिकाका खच्चड व्यवसायी देउवीर बोहोराले बताउनुभयो ।

स्थानीयको जनजीवनसँग गाँसिएको खच्चड व्यवसाय यातायात क्षेत्र धान्ने अर्थतन्त्र, संस्कार र जीवनशैलीको हिस्सा बनेको थियो । यहाँ बर्सौंसम्म मानिसले दैनिक जीवनका लागि आवश्यक सामान ढुवानी गर्ने मुख्य साधनका रूपमा पनि खच्चड, घोडा र डोकोनाम्लो नै हो । 

कार, जिप, ट्रक र ट्याक्टर गाउँ गाउँमा पुग्न थालेपछि अब मानिसले ढुवानीका लागि खच्चड प्रयोग गर्न छाडेका छन् । सडक बनेपछि यातायातको पहुँच गाउँसम्मै पुगेकाले खच्चड व्यवसाय हराउन थालेको उहाँले बताउनुभयो । 

सवारीसाधनले कम समयमा धेरै भार बोक्न सक्ने एव्ं खच्चडभन्दा सस्तो र सजिलो विकल्प दिएको छ । खच्चड पाल्दा गोठालो राख्नुपर्ने र नयाँ पुस्ताले खच्चडपालनलाई गर्वका रूपमा लिनै छाडेको उहाँले बताउनुभयो । पछिल्लो समय सडक गाउँमा पुगेपछि खच्चड व्यवसायमा निर्भर परिवारको जीविकोपार्जनमा सङ्कट परेको र परम्परागत ढुवानी संस्कृति हराउँदै गएको उहाँले बताउनुभयो । 

खच्चड व्यवसायी बोहोरा मात्र नभएर हुम्ला जिल्लाका धेरै परिवार प्रभावित भएका छन् । उनीहरूले दैनिक आम्दानी गुमाएका छन् । यसले गर्दा वैकल्पिक पेसाको खोज्नुपर्ने बाध्यता आएको बोहोराले बताउनुभयो । अर्कोतर्फ सडक सुविधाले ग्रामीण जनजीवनमा राहत पुगेको छ । पहिले १० दिनसम्म खच्चडको भरमा मात्र सामान आउने ठाउँमा अहिले तीन दिनमै गाडी पुग्न थालेको छ । यसले सामान सस्तो दरमा उपलब्ध हुन थालेको र जनजीवन सहज भएको स्थानीयवासीले बताएका छन् ।