• ७ पुस २०८२, सोमबार

पहिरोका कारण यात्रा जोखिमपूर्ण

blog

तुइनखोलामा आएको पहिरो ।

चितवन समाचारदाता

चितवन, असोज ४ गते  । लगातार एक हप्तादेखि चितवनको मुग्लिङ–नारायणगढ सडकखण्डमा एक दर्जन स्थानमा पहिरो खस्दा आवागमन जोखिमपूर्ण बनेको छ । मुख्य गरी तुइनखोला, नाम्सी, कालीखोलालगायतका स्थानमा पहिरो आउँदा यात्रामा जोखिम बढेको हो । पहिरोमा परी गत हप्ता एक जनाको ज्यान गएको थियो । जुनसुकै समयमा पहिरो खस्ने र बाटो अवरुद्ध हुने गरेको सडक डिभिजन कार्यालय भरतपुरका इन्जिनियर अर्जुन घिमिरेले बताउनुभयो । 

“केही हप्तायता पानी पर्ने र पानी नपरेको समयमा पनि पहिरो जाने गरेको छ । जुनसुकै समयमा पहिरो खस्ने भएकाले सकेसम्म यस राजमार्ग भएर यात्रा नगर्न सुझाव दिएका छौँ,” उहाँले भन्नुभयो, “हरेक दिन केही समय बाटो अवरुद्ध भइरहेको छ । वैकल्पिक बाटो प्रयोग गर्न सकिन्छ भने विचार गर्न भनेका छौँ ।” उहाँका अनुसार तुइनखोला, कालीखोला, चिसेन्जी, नाम्सी, सेती दोभान, सत्र किलो, जलवीरेलगायतका स्थानमा पहिरो गएको हो । 

दसैँ आउन लाग्दासमेत बर्सात रोकिने सङ्केत देखिएको छैन । यस वर्षको नवरात्रिमा यात्रा सहज बनाउन हामीले मेहनत गरिरहेका छौँ, उहाँले भन्नुभयो, “मौसमले साथ दिएमा यात्रा सजिलो हुने छ । यात्रा गर्दैगर्दा पहिरो खसेर सवारीसाधनमा लाग्दा यात्रुको समेत मृत्यु भएको छ । मङ्गलबार नाम्सी पुलनजिक माथिबाट खसेको ढुङ्गाले लागेर बसमा सवार एक यात्रुको मृत्यु भएको छ । तनहुँबाट नारायणगढतर्फ आउँदै गरेको ग २ ख १८३६ नम्बरको बसमा सवार लमजुङकी ४६ वर्षीय ऐश्वर्या कामीलाई ढुङ्गाले लागेको थियो । उहाँको उपचारका व्रmममा भरतपुरको पुरानो मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रवीन्द्र खनालले बताउनुभयो ।

प्रहरीका अनुसार बुधबार दिनभर पहिरो खस्ने, सडक अवरुद्ध हुने र पहिरो पन्छाउने काम चलिराखेको थियो । बिहीबार पनि पहिरो आएर पहिरो पन्छाउँदै सवारीसाधन सञ्चालनमा ल्याउने काम भएको प्रवक्ता खनालले जानकारी दिनुभयो । 

मुग्लिङ–नारायणगढ सडक विस्तार गरिएपछि तुइनखोलाको पहाडी भूगोल कमजोर भएको छ । यहाँको करिब ३० मिटर लम्बाइ र १५० मिटर उचाइको पहाड कमजोर भएको सडक डिभिजन भरतपुरका इन्जिनियर घिमिरेले बताउनुभयो । कार्यालयका अनुसार तुइनखोलालगायत जोखिमयुक्त स्थानमा पहिरोे रोकथाम गर्ने कार्य सुरु भएको छ । जोखिमपूर्ण स्थानमा रोकथामका लागि मङ्सिरमा ठेक्का आह्वान गर्ने तयारी रहेको उहाँले जानकारी दिनुभयो । 

मङ्सिरदेखि ठेक्का प्रव्रिmया सुरु गर्ने गरी तुइन, नाम्सी र कालीखोलाको डिपिआरसमेत तयार भइसकेको उहाँले जानकारी दिनुभयो । अन्य ठाउँमा पनि एकै पटक काम गर्ने गरी ठेक्का निकाल्ने तयारी रहेको इन्जिनियर घिमिरेले बताउनुभयो । पहिरो रोकथामका लागि ढुङ्गा खस्ने ठाउँमा रक नेट र रक बोल्ट गरिने भएको छ । लेदोसहितको पहिरो आउने ठाउँमा ‘फ्लेक्जिबल चेक ड्याम’ निर्माण गरिने छ । यस्तो ड्याममा ओमेगा जालीले माटो र ढुङ्गालाई रोकेर पानी मात्रै बग्न दिइन्छ । लेदोसहितको पहिरो रोक्न यो प्रविधि प्रभावकारी हुने डिभिजन सडक कार्यालयले जानकारी दिएको छ । नाम्सीखोला र कालीखोलामा दुई वटा पुल भएकाले एउटा पुलमा क्षति भइहाले अर्काे पुल प्रयोगमा ल्याउन सकिने छ । हाललाई पहिरो खसिहालेमा पन्छाउनका लागि उपकरण तयारी अवस्थामा राखिएको छ ।