• ४ असोज २०८२, शनिबार

‘निर्वाचन नै मुख्य कार्यभार’

blog

राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधान न्यायाधीश प्रकाशमानसिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल संविधान दिवस (राष्ट्रिय दिवस) २०८२ का अवसरमा राष्ट्रपति कार्याल

गोरखापत्र समाचारदाता 

काठमाडौँ, असोज ४ गते । राष्ट्रपति रामचन्द्र पौडेलले छ महिनाभित्र प्रतिनिधि सभाको चुनाव सम्पन्न गर्ने कार्यमा सहयोग गर्न सरोकारवाला सबैलाई आह्वान गर्नुभएको छ । संविधान दिवस (राष्ट्रिय दिवस) २०८२ का अवसरमा राष्ट्रपति कार्यालयमा शुक्रबार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताउनुभएको हो । अघिल्लो प्रतिनिधि सभा विघटन भएसँगै सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गर्ने निर्णय गरिसकेको छ । प्रतिनिधि सभाबाट मन्त्रीपरिषद् गठन गर्ने कुनै उपाय नभएपछि आमसहमतिले सङ्कटबाट निकास दिएको सो अवसरमा राष्ट्रपति पौडेलले बताउनुभयो । 

सबै राजनीतिक दल, मुलुकको प्रशासन तथा व्यवस्थापनमा आबद्ध निकाय, बौद्धिक समुदाय र नागरिकहरूलाई असहमति र द्वन्द्व छोडेर पूर्वाग्रहरहित भएर समन्वय र सहकार्यसाथ निर्वाचन सफलताका लागि व्रिmयाशील हुन राष्ट्रपति पौडेलले आह्वान गर्नुभयो । “यो संविधानले नेपाली जनतालाई सार्वभौसत्ता र स्वतन्त्रता दिएको छ । 

सबै जात, धर्म र सम्प्रदायका जनतालाई समान हक दिएको छ । र, समन्वय कायम गरी उन्नति गर्ने अवसर दिएको छ,” उहाँले भन्नुभयो, “हामी संवैधानिक विकासको इतिहासमै सबैभन्दा बलियो र सार्वभौम भएका छौँ । यो हामीले प्राप्त गरेको युगीन उपलब्धि हो । त्यसैले सबैले यसको रक्षा गरौँ ।”

राष्ट्रपति पौडेलले हरेक पुस्ताको सहभागिताले लोकतन्त्र बलियो हुँदै जान्छ भन्नेमा आफ्नो दृढ विश्वास रहेको उल्लेख गर्दै आफैँ पनि १७ वर्षको कलिलो उमेरमा २०१७ सालमा प्रजातन्त्रका लागि राजनीतिमा होमिएको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, “परिस्थितिले मलाई भदौ २४ गतेपछि उत्पन्न राजनीतिक अप्ठ्यारो र रिक्तता सम्हाल्ने ठाउँमा ल्याएर राखेको छ र सबैको सुझबुझ, समन्वय र सहयोगका कारण हामीले यो असहज परिस्थितिलाई सम्हालेका छौँ ।”

राष्ट्रपति पौडेलले संविधान दिवसका अवसरमा सबैले लोकतन्त्रप्रति प्रतिबद्ध, नागरिकलाई केन्द्रमा राखेर अगाडि बढ्ने छौँ, सुशासनप्रति प्रतिबद्ध रहने छौँ र राजनीति, राज्य र राजकाजलाई नैतिकता, निष्ठा तथा मूल्यमान्यताको सीमाभित्र आबद्ध गर्ने छौँ भनी सङ्कल्प गर्न आह्वान गर्नुभयो । 

उहाँले भन्नुभयो, “राजनीतिक दल, सरकार, राज्यका निकाय र आमनागरिक सबै मिलेर हाम्रो संविधानलाई अझ जीवन्त, न्यायपूर्ण र भविष्यमुखी बनाउँदै नेपाली नागरिकले परिवर्तनका आन्दोलनमा देखेका सपनाहरू पूरा गर्ने नयाँ आशा, अपेक्षा र विश्वाससहितको गौरवमय यात्रामा अघि बढ्न सकौँ भन्ने शुभकामना पनि दिन चाहन्छु ।” अहिलेको परिस्थितिमा सबै मित्रराष्ट्रहरूको निरन्तर सहयोग तथा सद्भावको अपेक्षा गरेको पनि सो अवसरमा राष्ट्रपति पौडेलले बताउनुभयो । 

लोकतन्त्र र संविधानको भावना, नवपुस्ताको परिवर्तनको सपना र जनचाहना अनुसार तत्कालीन समयमा जे जति गर्न सकिन्थ्यो, त्यो सबैले मिलेर गरेको उल्लेख गर्दै मुलुक फेरि एक पटक नयाँ सपनाका साथ परिवर्तनको नवमार्गमा प्रवेश गरेको राष्ट्रपति पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “नयाँ जनादेशले लोकतन्त्रलाई थप संस्थागत गर्दै मुलुकको आगामी बाटो तय गर्ने छ भन्ने मेरो दृढ विश्वास छ ।”

अहिले बनेको अन्तरिम सरकारले राष्ट्रिय क्षतिको पुनर्निर्माण गर्दै छ महिनामा निर्वाचन सम्पन्न गरी जनप्रतिनिधिमूलक संस्थालाई सत्ता हस्तान्तरण गर्ने मुख्य कार्यभार रहेको पौडेलले बताउनुभयो । दुई दिनको विरोध प्रदर्शनमा मुलुकले अकल्पनीय मानवीय र भौतिक क्षति बेहोरेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले भन्नुभयो, “छोराछोरीको एउटा अभिभावकका रूपमा म जीवन गुमाउने ती युवाका बुवाआमाको पीडा अनुभव गर्न सक्छु र त्यस व्रmममा भएको राष्ट्रको अपार जनधनको क्षतिको पनि अनुमान गर्दछु ।”

कार्यव्रmममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायत पूर्वराष्ट्रपतिहरू, पूर्वप्रधानमन्त्रीहरू, विभिन्न संवैधानिक निकायका पदाधिकारीहरू, राजनीतिक दलका नेता तथा प्रशासनिक नेतृत्वको उपस्थिति थियो ।