• ४ असोज २०८२, शनिबार

नेपालगन्ज म्याराथन र यति एयरलायन्सबिच सहकार्य

blog

सम्झौता आदान प्रदान गर्दै यति एयरलाइन्सका बिजनेस डेभलपमेन्ट अफिसर युवराज बिष्ट र धारा नेपालगन्ज म्याराथनका प्रोगाम म्यानेजर कपिल थापा । तस्बिरः कमल खत्री

कमल खत्री

धम्बोझी, असोज ३ गते । एक दशकदेखि निरन्तर सञ्चालन हुँदैआएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी विमान कम्पनी यति एयरलाइन्सबिच सहकार्य हुने भएको छ । आगामी मंसिर ६ गते शनिवार हुने ११ औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । 

यति एयरलाइन्सका बिजनेस डेभलपमेन्ट अफिसर युवराज बिष्ट र धारा नेपालगन्ज म्याराथनका प्रोगाम म्यानेजर कपिल थापाले सम्झौतापत्र आदानप्रदान गर्नुभयो । यो सम्झौतासँगै यति एयरलाइन्स धारा नेपालगन्ज म्याराथनको अफिसियल एयरलाइन्स पार्टनर हुनेछ । 

वल्र्ड रनिङको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स) को पूर्णकालीन सदस्य धारा नेपालगन्ज म्याराथनका विजेता एवं शीर्ष नेपाली धावकलाई विश्वकै शीर्ष म्याराथनमा सहभागिताको अवसर प्रदान गर्ने वातावरण बनाउँदै अगाडि बढेको एम्सका नेपाल प्रतिनिधि एवं धारा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले बताउनुभयो । 

नेपालगन्ज म्याराथनले इभेन्टको दायरा फराकिलो बनाउन र सबैलाई अपनत्व भाव जगाउन फरक फरक संस्थासँग सहकार्य गर्दै अघि बढेको छ । यसअघि थाइल्याण्डमा हुने विश्वस्तरीय बाङ्सेन रनिङ सिरिजमा धावक, पदाधिकारी तथा सदस्यहरुका लागि अनुभव बटुल्ने र क्षमता अभिवृद्धि गर्ने अवसर दिन सम्झौता गरेको छ । 

यसले बर्षेनी दर्जनौं धावक तथा म्याराथनको उत्थानमा अहोरात्र खटिने व्यक्तिहरुलाई अवसरको ढोका खोलिदिएको छ । अन्य स्वदेशी तथा विदेशी संघ संस्था, म्याराथन आयोजक, व्यापारिक घराना, खेलकुद सामग्री उत्पादक तथा वितरक कम्पनीहरुसँग सहकार्य गर्दै अघि बढ्ने तयारी रहेको धारा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले बताउनुभयो । 

नेपालगन्ज कनक्लेवका लागि विभिन्न पेशागत एवं व्यावसायिक संघ संस्थासँग सहकार्य गर्ने तयारी भएको बताइएको छ ।