• ३ असोज २०८२, शुक्रबार

उपलब्धि खोस्न अनेक तानाबाना बुनिए : वरिष्ठ उपाध्यक्ष पोखरेल

blog

कार्यक्रममा सहभागी नेकपा (एमाले)का शीर्ष नेता ।

काठमाडौँ, असोज ३ गते। नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्राप्त उपलब्धि खोस्न अनेक षड्यन्त्रका तानाबाना बुनिएको बताउनुभएको छ। संविधान दिवस तथा राष्ट्रिय दिवसको उपलक्ष्यमा शुक्रबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो। 

उहाँले भन्नुभयो, “नेपाली जनताले लडाइँ लडेर प्राप्त गरेको उपलब्धि हो। हाम्रो यो प्राप्त उपलब्धि खोस्न अनेक षड्यन्त्रका तानाबाना बुनिँदैछ। तर, म साथीलाई पूर्ण विश्वास के भन्न चाहन्छु भने कसैको तागत छैन हाम्रो उपलब्धि खोस्ने, हामी त्यसलाई दिनेवाला छैनौं।”

उहाँले वर्तमान अवस्था सुधार गर्नुपर्ने भए सार्वभौम नेपाली जनताको निर्वाचित प्रतिनिधिको प्रक्रियाबाट सम्भव रहेको तर यसलाई सिध्याउन खोज्ने प्रयास सम्भव नरहेको बताउनुभयो। उहाँले सजगता र सतर्कता अपनाउन जरुरी रहेको बताउनुभयो। 

उहाँले भन्नुभयो, “संविधान दिवसमा एउटा कुरा आग्रह गर्न चाहन्छु, हाम्रो होस् पुगेन भने हामीले जानेनौं भने, हामीले बिरायौं भने कहिलेकाहीँ खोसिन सक्छ। कहिलेकाहीँ हाम्रो हातबाट गुम्न सक्छ। यसप्रति सचेत हुन जरुरी छ। सिङ्गो नेतृत्वदेखि आम कार्यकर्ता र एमालेलाई माया गर्ने जनतालाई भन्न चाहन्छु हामीले सजगता र सतर्कता अप्नाउनुपर्छ।”

एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले कमजोर मनस्थितीबाट नभइ गर्व गर्न सक्ने किसिमबाट इतिहासको पाना थप्नुपर्ने बताउनुभयो।

उहाँले भन्नुभयो, “हाम्रो पार्टीको समीक्षा तलदेखि माथिसम्म हुनुपर्छ। पार्टीले सच्च्निुपर्ने कुरा के के हो, त्यो तहमा हामी जानुपर्छ। समीक्षा गर्न डराउनु हुँदैन। हामी कस्तो–कस्तो आन्दोलन र चुनौती सामना गर्दै अगाडि बढेको हो। नयाँ ढङ्गले अगाडि बढाऔं।”

उहाँले युवा पुस्ता अग्रज पुस्ताको भरोसा रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “युवा पुस्ता भनेको हाम्रो भरोसा हो। साँच्चिकै विश्वास गर्न लायकको पुस्ता बन्नुपर्छ। युवा भनेर मात्रै पनि हुँदैन। विचारयुक्त, आचरणयुक्त, नैताकवान युवा। आफ्नो स्वार्थलाई होइन, देशलाई शिरोपर राखेर अगाडि बढ्ने युवा अगाडि बढोस् भन्ने चाहना व्यक्त गर्दछु।”