• ३ असोज २०८२, शुक्रबार

संविधानका त्रुटी संशोधन गर्नु आवश्यक छ : मुख्यमन्त्री सिंह

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंह । तस्बिरः धर्बेन्द्र झा

धर्बेन्द्र झा  

जनकपुरधाम, असोज ३ गते। मधेश प्रदेशको आठ वटै जिल्लामा शुक्रबार संविधान दिवस २०८२ विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ। सरसफाइ, वृक्षारोपण, फलफूल वितरणसहितका रचनात्मक कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाइएको हो।

दिवसको अवसरमा मधेश प्रदेश सरकारको गृह सञ्चार तथा कानुन मन्त्रालयले जनकपुरधाममा आयोजना गरेको कार्यक्रममा मधेश प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख, प्रदेश सरकारका मन्त्रीहरु, उच्च पदस्थ कर्मचारीहरु सहभागी हुनुहुन्थ्यो। 

मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले लामो सङ्घर्ष र प्रयासबाट निर्माण गरिएको नेपाली जनताको साझा दस्तावेजको रुपमा नेपालको संविधान रहेको बताउनुभयो। प्राकृतिक स्रोत साधन कृषि, वन, जलस्रोतलाई अधिकतम सदुपयोग गरी उत्पादनमुलक जनशक्ति निमार्ण गर्नुपर्ने बाटोमा अघि बढनुपर्ने उहाँको भनाइ छ। 

उहाँले जेलबाट कैदीबन्दी भागेर अपराधिक गतिविधिमा सङ्लग्न हुने घटनालाई चिन्ताजनक रुपमा लिइएको भन्नुहुँदै यसप्रकारका कार्यमा सङ्लग्न व्यक्ति वा समूहलाई तत्काल कानुनी प्रक्रिया अनुसार कारबाही गर्नुपर्ने बताउनुभयो। 

यसैगरी, मुख्यमन्त्री सतीशकुमार सिंहले संविधानमार्फत प्राप्त सङ्घीयताले गाँउ–गाँउसम्म विकास भएको बताउनुभयो। देशको विगत तथा वर्तमान विषयमा युवालाई जानकारी गराउनुपर्ने उहाँको भनाइ छ।

उहाँले संविधानको रक्षा गर्दै संविधान अन्तर्गत रहेका त्रुटी संशोधन गर्न आवश्यक रहेको बताउनुभयो। उहाँले भदौ २४ गते देशमा उत्पन्न परिस्थितीलाई मध्यनजर गरी सामाजिक सञ्जालमा आफुले राजीनामा गरेको भएपनि सङ्घीयताको रक्षाका लागि आफुले राजीनामा नगरेको जिकिर गर्नुभयो। 

कार्यक्रममा मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले संविधान कागज मात्र नभइ जीवन व्यवहार रहेको बताउनुभयो। 

उहाँले भन्नुभयो, “हाम्रा व्यवहारका कारण जनतामा असन्तुष्टी छ। नेता मात्रै होइन, कर्मचारी पनि सच्चिनुपर्छ।”

उहाँले जेन्जी आन्दोलनका नाममा भएको क्षतिले देशलाई पछाडि धकेलेको पनि बताउनुभयो। कार्यक्रममा गृह सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले जनमत पार्टीको नेतृत्व तहबाटै सङ्घीयता समाप्त गर्ने दुष्प्रयास भइरहेको भन्न्हुँदै आपत्ति जनाउनुभयो। मधेश प्रदेशका प्रमुख सचिव मदन भुजेलले संविधान कार्यान्वयन भएको दश वर्ष भन्नुहुँदै यसको समिक्षा हुनुपर्ने धारणा राख्नुभयो। 

गृह सञ्चारमन्त्री राज कुमार लेखीकै अध्यक्षतामा भएको सो कार्यक्रममा मधेश प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सरोज कुमार यादव, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधन प्रसाद सिंह, ऊर्जा सिँचाइ तथा खानेपानी मन्त्री शेषनारायण यादव, खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवाल, उच्चपदस्थ कर्मचारी, सुरक्षा निकायका प्रमुखको सहभागीता रहेको थियो।