गोरखापत्र अनलाइन
काठमाडौं, असोज ३ गते । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) सम्बद्ध घटक संगठनले जेन–जी पुस्तालाई आदिवासीको माग मुद्दा र अधिकार नबिर्सन आग्रह गरेका छन् । आदिवासीको अधिकार ओझेलमा पार्ने प्रयास गरिए ३५ प्रतिशत आदिवासीको अर्को क्रान्ति सुरु हुने उहाँहरुको चेतावनी छ ।
नेफिनको कार्यालयमा आज महासंघ सम्बद्ध ६७ वटा घटक संगठनका नेतृत्व र आदिवासी जेनजी प्रतिनिधिहरुसँगको संयुक्त छलफल कार्यक्रममा आदिवासी अगुवाले सो चेतावनी दिएका हुन् । जेनजी क्रान्तिमा आदिवासीको माग मुद्दा ओझेलमा पार्ने प्रयास गरिएको आभास आफूहरुलाई भएका बताउँदै महासंघ सम्बद्ध संघ संगठनका अगुवाहरुले जेनजी पुस्तालाई सचेत गराएका हुन् ।
नेफिनका अध्यक्ष गेल्जे लामा शेर्पाले जेनजी क्रान्ति परिवर्तनको वाहक भएकाले आफूहरु सबैको समर्थन र सहयोग रहने तर आदिवासीको माग मुद्दा सम्बोधन नभए आदिवासीको अर्को क्रान्ति सुरु हुने चेतावनी दिनुभयो । यसअघि संविधानले सम्बोधन गरेका माग मुद्दा र उपलब्धीलाई सुनिश्चित गर्दै बाँकी थप मुद्दा सम्बोधनका लागि जेनजी अगुवाहरुले ध्यान दिनुपर्ने उहाँको सुझाव छ ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का अध्यक्ष लक्की चौधरीले संविधानले आदिवासीको सुनिश्चित गरेको अधिकारलाई गुम्न नदिई बाँकी अधिकार सुनिश्चित गर्न आदिवासी जेनजी पुस्ता सचेत हुनुपर्ने सुझाव दिनुभयो । नेपालको भौगोलिक, भाषिक र जातीय बनावट नै विविधता रहेकाले राज्यको संयन्त्रमा विविधताको तस्बिर आउनेगरी मुद्दाहरु सम्बोधन गर्नुको विकल्प नरहेको चर्चा गर्नुभयो । परिवर्तनका वाहक आदिवासी समुदाय भए पनि अधिकारबाट बञ्चित गरिनेगरेकाले आदिवासी जेनजी पुस्ताले त्यसमा ध्यान दिनुपर्ने उहाँको सुझाव छ ।
जेनजी पुस्तामा आदिवासीबाट प्रतिनिधित्व गर्ने उपार्जन राईले आदिवासीको मुद्दामा आफूहरु सचेत रहे पनि आदिवासी संघ संस्थाले निरन्तर मुद्दाबारे खबरदारी गरिरहनु पर्ने बताउनुभयो । जेनजी पुस्तामा आदिवासी जेनजीको संख्यात्मक बृद्धि अनिवार्य रहेको बताउँदै उहाँले संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशी, पहिचानका मुद्दा आफूहरुको बटमलाईन भएको प्रष्ट पार्नुभयो ।
कार्यक्रममा नेफिनका वरिष्ठ उपाध्यक्ष वुद्ध घर्ती, महासचिव दिवस राई, थारु कल्याणकारिणी सभा (थाकस) का अध्यक्ष प्रेमीलाल चौधरी, आदिवासी अगुवाहरु रणबहादुर थामी, हिलारीबन्धु भुजेल, अन्जना शेर्पा, आदिवासी जेनजीहरुबाट योगेन्द्र पुनमगर, राजु पुनमगर, सबनम लामा, पेमा लामा, सामना लावती, शुभलाल राई, छिरिङ शेर्पा, सफलता तामाङ, सुमन पुलामी, देछेन लामा, स्याङ्केन राई लगायतले धारणा राख्नुभएको थियो ।