रमेश विश्वकर्मा
गुल्मी, असोज ३ गते। संविधान दिवसका अवसरमा आज गुल्मीको सदरमुकाम तम्घासमा शान्ति र्यालीको आयोजना गरिएको छ। नेपाली कांग्रेस गुल्मीको आयोजनामा तम्घासस्थित जिल्ला पार्टी कार्यालय वीपी स्मृति भवनबाट सुरु भएको शान्ति र्याली क्याम्पस रोड, पुतलीबजार हुँदै जिल्ला प्रशासन कार्यालय अगाडि शहीद चोकमा पुगेर सभामा परिणत भएको थियो।
संविधान कार्यान्वयनको एक दशक यात्रा पूरा भएको अवसरमा आयोजित संविधान दिवस तथा राष्ट्रिय दिवस जिल्लाका विभिन्न स्थानबाट नेपाली कांग्रेसका नेता एवम् कांग्रेसमा आस्थावान नागरिकहरुको सहभागितामा शान्ति र्यालीसहित मनाइएको छ।
कार्यक्रममा सहभागीले “संविधानको रक्षा गरौँ, भ्रष्टाचार अन्त्य गरौँ” भन्ने नारासहित बजार परिक्रमा गरेका थिए। र्यालीमा सहभागीले संविधानलाई जोगाउने प्रतिबद्धता व्यक्त गर्दै हालै जेनजी पुस्ताले थालेको आन्दोलनका मागलाई सम्बोधन गर्न सरकारलाई आग्रह गरेका थिए। उनीहरुले आन्दोलनमा भएको घुसपैठमा संलग्न व्यक्तिहरुलाई तत्काल कारबाहीको मागसमेत गरेका छन्।
कोणसभामा नेपाली काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले शहीद शम्सेरबहादुर खत्रीको शालिकमा माल्यार्पण गर्दै जेनजी पुस्ताले उठाएका माग जायज रहेको बताउनुभयो। जेनजी पुस्ताको आन्दोलनमा घुसपैठ भएको हुँदा अरबौँको सम्पत्ति क्षति र निजी क्षेत्रको वर्तमान अवस्था तहसनहस भएको बताउनुभयो। आन्दोलनमा घुसपैठ गर्नेमाथि कानुनी कारबाही गर्नुपर्ने उहाँको भनाइ छ।
कांग्रेसको नेतृत्वले संविधानलाई जोगाउनेतर्फ स्पष्ट प्रतिबद्धता जनाएको भन्दै सभापति पन्थीले २०७२ सालको नेपालको संविधान सङ्घर्ष र बलिदानको फल भएको बताउनुभयो। यसलाई थप परिस्कृत गर्दै बलियो जनताको संविधान बनाउन आवश्यक रहेको बताउनुभयो।