• ३ असोज २०८२, शुक्रबार

अन्तरिक्ष अनुसन्धानमा अमेरिकी प्रविधिको नयाँ चरण : पुनः आपूर्ति यानले सामग्री पुर्यायो

blog

लस एन्जलस, असोज ३ गते । अमेरिकी अन्तरिक्ष प्रविधि कम्पनी ‘नर्थरप ग्रुम्यान’ले विकसित गरेको आपूर्ति यान ‘सिग्नस एक्सएल’ बिहीबार अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस)मा सफलतापूर्वक जोडिएको छ । 

यसले आईएसएसमा आवश्यक पर्ने महत्वपूर्ण वैज्ञानिक उपकरण र अन्य सामाग्रीहरू पुर्याएको छ, जसले अन्तरिक्ष अनुसन्धान र प्रयोगशालाका कार्यलाई सहज बनाउन ठूलो सहयोग गर्ने छ । ‘सिग्नस एक्सएल’ अमेरिकी अन्तरिक्ष प्रविधि कम्पनी नर्थरप ग्रुम्यानद्वारा विकसित उन्नत पुनःआपूर्ति यान हो, जुन अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा वैज्ञानिक उपकरण, खाद्यान्न र अन्य आवश्यक सामग्री पुर्याउन प्रयोग गरिन्छ । 

यो यान विशेष गरी ठूलो क्षमताको कार्गो बोकेर अन्तरिक्ष स्टेशनमा आपूर्ति गर्ने उद्देश्यले तयार गरिएको हो र यसले अन्तरिक्ष अनुसन्धान र प्रयोगशालाका गतिविधिलाई निरन्तरता दिन महत्वपूर्ण भूमिका खेल्द छ । यसमा नवीनतम प्रविधि समावेश छन्, जसले यसको विश्वसनीयता र कार्यक्षमता सुनिश्चित गर्दछ ।

सिग्नस एक्सएल यान आइतबार अमेरिकी फ्लोरिडास्थित केप क्यानाभरल स्पेस फोर्स स्टेशनबाट स्पेसएक्सको फाल्कन नौ रकेटमार्फत प्रक्षेपण गरिएको थियो । यो मिशन नर्थरप ग्रुम्यानको कमर्शियल रिसप्लाइ सर्भिसेस २३ अन्तर्गत संचालन गरिएको हो, जसले करिब ११ हजार पाउन्ड (लगभग पाँच हजार किलोग्राम) वैज्ञानिक उपकरण, अनुसन्धान सामग्री र दैनिक प्रयोगका वस्तुहरू आईएसएसमा पुर्याउने लक्ष्य राखेको थियो ।

प्रारम्भमा सिग्नस एक्सएल यान बुधबार आईएसएसमा पुग्ने योजना बनाइएको थियो, तर मुख्य इन्जिनमा देखिएको प्राविधिक समस्याका कारण यो योजना एक दिन ढिलो हुँदै बिहीबार आईएसएसमा पुग्न सफल भयो । बिहान ७ बजेर २४ मिनेट (स्थानिय समय अनुसार) अन्तरिक्ष स्टेशनका अन्तरिक्षयात्रीहरुले रोबोटिक हातको मद्दतले यानलाई समाते । त्यसपछि केही घण्टाको प्रक्रियापछि, बिहान १० बजेर १० मिनेटमा यसलाई सफलतापूर्वक अन्तरिक्ष स्टेशनसँग जोडिएको नासाले पुष्टि गर्यो ।

यो यानले पुर्याएका सामग्रीहरु अन्तरिक्षमा भइरहेका विभिन्न वैज्ञानिक अनुसन्धानका लागि अत्यन्त महत्वपूर्ण मानिन्छन् । यसले अन्तरिक्ष स्टेशनमा रहेका वैज्ञानिकलाई उनीहरुको अनुसन्धानलाई निरन्तरता दिन र अन्तरिक्षका थप रहस्यमय पक्षबारे नयाँ ज्ञान हासिल गर्न सहयोग गर्ने छ ।

नर्थरप ग्रुम्यान र नासाबीचको यो साझेदारी अन्तरिक्ष अनुसन्धान र अन्तरिक्षयान आपूर्ति प्रणालीमा नयाँ सफलताको रूपमा लिइएको छ, जसले अन्तरिक्ष अन्वेषणलाई अझ प्रभावकारी र दिगो बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ । रासस/सिन्ह्वा