• ३ असोज २०८२, शुक्रबार

युक्रेनलाई रूसी आक्रमणविरुद्ध सक्षम बनाउन पश्चिमी लगानी

blog

किएभ, असोज ३ गते । नाटो सदस्यताको सम्भावना सीमित भएपछि युक्रेनका पश्चिमी सहयोगीले वैकल्पिक रणनीतिमा ध्यान केन्द्रित गरेका छन्यु-क्रेनको रक्षा उद्योगमा अर्बौं डलरको लगानी ।  उद्देश्य स्पष्ट छः युक्रेनलाई आफ्नै हतियार उत्पादन गर्न सक्षम बनाउने, रूसी आक्रमणविरुद्ध टिक्न मद्दत गर्ने र भविष्यमा स्वतन्त्र रूपमा रक्षा गर्न सक्ने बनाउन ।

यस रणनीति सफल भएमा युक्रेनको हतियार उद्योगले युद्धको बिचमै ड्रोन र अन्य आधुनिक प्रविधि विकास गर्दै अमेरिकी तथा युरोपेली सेनालाई समेत सुसज्जित गर्न सक्छ । हालै युक्रेनले विकास गरेको क्वाडकप्टर ड्रोनले रूसी जामिङ उपकरणलाई छल्न सक्छ, २० किलोमिटरभन्दा बढी उड्न सक्छ र छ किलोग्रामसम्मका निर्देशित विस्फोटक बोक्न सक्छ ।

“ड्रोन प्रविधिमा युक्रेन विश्वकै अग्रपङ्क्तिमा छ”, युक्रेनका लागि ट्रम्प प्रशासनका विशेष दूत किथ केलोगले गत हप्ताको किएभ सम्मेलनमा भन्नुभयो । विशेषगरी बेलारुसबाट प्रक्षेपण भएका रूसी ड्रोन पोल्यान्डमा खसेपछि युरोपमा पनि चिन्ता बढेको छ । युक्रेनले अहिले आफ्नै हतियार उत्पादनलाई तीन गुणा गर्दै सेनाका लागि ६० प्रतिशत आवश्यकता पूरा गरिरहेको छ । यो जुन युद्ध सुरु हुनुअघि १० प्रतिशत मात्र थियो । 

तर यसको ६४ अर्ब डलरको वार्षिक रक्षा बजेट अझै पनि रूसको आधाभन्दा कम छ । यसैले देशले पश्चिमी लगानी र संयुक्त उद्यमलाई प्राथमिकता दिइरहेको छ । लन्डनस्थित इन्टरनेसनल इन्स्टिच्युट फर स्ट्राटेजिक स्टडिजका फेबियन हिन्जका अनुसार युक्रेनसँग युद्ध–परीक्षण भएका प्रणाली, कम उत्पादन लागत र तीव्र उत्पादन क्षमताको फाइदा छ ।

-युद्धले तिखार्दै नवप्रवर्तन-

युद्धका कारण नवप्रवर्तनको चक्र छिटो भएको छ । एफआरडिएम कम्पनीको आर-३४ क्वाडकप्टर ड्रोन निरन्तर सैनिकको प्रतिक्रियामा परिमार्जन हुन्छ । संस्थापक भादिम युनिक भन्नुहुन्छ, “रोबोटले अगाडिको रेखामा मर्नुपर्छ, मानिसले होइन ।” मानव शक्ति अभावले पनि युक्रेनी कम्पनीलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र रोबोटिक्समा लगानी गर्न प्रेरित गरेको छ । 

यसका कारण सेनाले अब ड्रोन र स्वायत्त सवारी प्रयोग गरी टाढाबाट निशाना साध्न, आपूर्ति पुर्याउन र घाइते निकाल्न सक्ने क्षमता पाएको छ । युक्रेनका अनुसार फ्रन्ट लाइनमा प्रयोग हुने एफपिभी (पहिलो-व्यक्ति दृश्य) ड्रोनहरूले मात्र रूसी जनशक्ति र हतियारमा ७० प्रतिशत क्षति पुर्याएका छन् । अर्कोतर्फ, लामो दूरीका स्ट्राइक ड्रोनले एक हजार किलोमिटरसम्म पुगेर रूसी भित्री भागमा प्रहार गर्न सक्छन् ।

-परम्परागत हतियारमा सुधार-

ड्रोनसँगै युक्रेनी कम्पनीहरूले बख्तरबन्द सवारी साधनमा पनि प्रगति गरेका छन् । युक्रे आर्मोटेकको गुर्जा-१ पैदल सैनिकलाई सुरक्षित राख्न डिजाइन गरिएको छ भने गुर्जा-२ चाँडै उत्पादनमा जाने तयारीमा छ । कम्पनीले गत वर्ष पाँच सय सवारी उत्पादन गरेको थियो र क्षमता तीन गुणा बढाउने योजना बनाएको छ । विज्ञ पाभ्लो भर्खनियातस्की भन्नुहुन्छ, “हामीलाई थाहा छ रूसले कुन-कुन हतियार प्रयोग गर्छ, त्यसअनुसार कवच विकास गर्छौं ।”

-युरोपेली लगानीमा भर-

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले युक्रेनलाई ‘अभेद्य’ बनाउन ठूलो लगानी गर्ने घोषणा गर्नु भएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले वार्षिक ३० अर्ब डलरको हतियार उत्पादन सम्भव हुने दाबी गर्नु भएको छ । युक्रेनले केवल पैसा मात्र नभई पश्चिमी कम्पनीसँग प्रविधि र निर्माण साझेदारी पनि खोजिरहेको छ । खरिद एजेन्सीका प्रमुख आर्सेन झुमादिलोभ भन्नुहुन्छ, “आधुनिक युद्धका लागि चाँडो अनुकूलन गर्ने क्षमता नै निर्णायक हुन्छ ।”

डेनमार्क हतियार दानभन्दा प्रत्यक्ष लगानी सुरु गर्ने पहिलो देश बनेको छ । डेनमार्क र बेलायतले आफ्ना कारखानामा युक्रेनी मिसाइल र ड्रोनका कम्पोनेन्ट उत्पादन गर्ने योजना अघि बढाइरहेका छन् । युक्रेनले डेनमार्क, स्विडेन, क्यानाडा, नर्वे र आइसल्यान्डबाट एक अर्ब ३० करोड युरो (एक अर्ब ५० करोड डलर) प्राप्त गर्ने तयारी गरेको छ । जर्मनीले पनि यस्तै सम्झौता गरेको छ । झुमादिलोभ भन्नुहुन्छ, “जब विदेशी कम्पनीले लगानी गर्छन्, उनीहरूको सरकारले उत्पादन खरिदमा सहयोग गर्छ । यो सबैभन्दा राम्रो मोडेल हो ।” रासस/एपी