काठमाडौँ, असोर ३ गते। नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाको टाउकोमा १२ वटा टाँका लगाएको कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिनुभएको छ।
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचार विभाग प्रमुख विश्वकर्माले यस्तो जानकारी दिनुभएको हो। विश्वकर्माका अनुसार सभापति देउवा र उहाँकी पत्नी निवर्तमान परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको स्वास्थ्यमा सुधार भइरहेको छ।
सुरुमा देउवा दम्पतीको स्वास्थ्य अवस्था देख्दा अतालिएको भए पनि उपचारपछि स्वास्थ्यमा सुधार आउँदै गएको विश्वकर्माले प्रष्ट पार्नुभयो।
उहाँ भन्नुहुन्छ, “सभापतिले दिनुभएको जानकारी अनुसार उहाँको टाउको र गर्धनमा गम्भीर चोट लागेको छ। जसमा १२ वटा टाँका लगाइएको छ। गर्धनमा पनि सामान्य चोट छ। अहिले घाँउ निको हुँदै गएको छ।”
विश्वकर्माका अनुसार सभापति देउवा सामान्य बोलचाल, हिँडडुल गर्न, पार्टी र अन्य साथीसँग संवाद गर्न सक्नुहुन्छ।
उठ्दा चक्कर लाग्ने, धेरैबेर बोल्दा गाह्रो हुने भएकाले भिडभाड जाँदा स्वास्थ्य लाभमा बाधा पुग्ने भन्दै चिकित्सकले केही दिन अस्पतालमानै बस्न सुझाव दिएअनुसार सभापति देउवा दम्पती केही दिन अस्पतालमानै आराम गर्ने विश्वकर्माले जानकारी दिनुभयो।
भदौ २४ गते जेनजी आन्दोलनमा प्रदर्शनकारीले उहाँहरुमाथि आक्रमण गरेका थिए। देउवा निवास बूढानीलकण्ठ पुगेका प्रदर्शनकारीले घरमा आगजनी गरेर कुटपिट गर्दै निकालेका थिए। प्रदर्शनकारीले कुटपिट गर्न थालेपछि उहाँहरुलाई नेपाली सेनाले सुरक्षित स्थानमा लगेको हो। अहिलेसम्म देउवा दम्पती सेनाको सुरक्षामा उपचाररत हुनुहुन्छ।