वासिङ्टन, असोज ३ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको फोन वार्तामा भिडियो साझेदारी एप टिकटकको भाग्यलाई अन्तिम रूप दिने र दुई देशबीचको व्यापार वार्तामा प्रगति गर्ने आशा व्यक्त गर्नु भएको छ ।
“म राष्ट्रपति सीसँग कुरा गर्दैछु, तपाईंलाई थाहा छ, टिकटक र व्यापारबारे”, ट्रम्पले बिहीबार फक्स न्युजसँगको अन्तर्वार्तामा भन्नुभयो, “हामी सम्झौतामा धेरै नजिक छौँ र चीनसँग मेरो सम्बन्ध धेरै राम्रो छ ।” जनवरीमा ह्वाइट हाउस फर्केपछि ट्रम्प र सीबीच यो दोस्रो र वर्षको सुरुदेखि तेस्रो संवाद हो ।
जुन ५ मा ट्रम्पले सीलाई अमेरिकामा निमन्त्रणा गर्नु भएको थियो भने आफूलाई चीन भ्रमणको प्रस्ताव आएको बताउनुभएको थियो । हालसम्म भ्रमण तालिका तय नभए पनि विश्लेषकहरूले सीले आफ्नो प्रस्ताव दोहो¥याउने अपेक्षा गरेका छन् ।
-टिकटक विवाद-
राष्ट्रिय सुरक्षाको कारण देखाउँदै अमेरिकी कांग्रेसले चिनियाँ मूल कम्पनी बाइटडान्सलाई आफ्नो अमेरिकी सञ्चालन बेच्न बाध्य पार्ने कानून बनाएपछि टिकटक विवादित बनेको हो । ट्रम्पले भने बारम्बार प्रतिबन्ध स्थगित गर्दै अन्ततः समाधान खोज्ने सङ्केत दिनुभएको छ ।
“टिकेकमा केही अन्तिम रूप दिने आशा छ”, उहाँले पत्रकारसँग भन्नुभयो । सम्झौता भए टिकटकको अमेरिकी व्यवसाय अमेरिकी लगानीकर्ता, धनी व्यक्ति र ठूला कम्पनीको स्वामित्वमा रहने उहाँको भनाइ छ । ट्रम्पले टिकटक एपले युवा मतदातालाई आकर्षित गरेर सन् २०२४ को चुनाव जित्न मद्दत गरेको दाबीसमेत गर्नुभयो । वाल स्ट्रिट जर्नलका अनुसार टिकटकलाई नियन्त्रण गर्न सम्भावित कन्सोर्टियममा ओरेकल र अमेरिकी लगानी कोष सिल्भर लेक तथा एन्ड्रिसन होरोविट्ज सहभागी हुने छन् ।
-व्यापार र भन्सार शुल्क-
यसैबिच, दुवै मुलुकबीच टेलिफोन वार्ता विश्वव्यापी आपूर्ति शृङ्खलामा असर गर्ने स्तरमा पुगेको भन्सार शुल्क विवादबिच भएको हो । यस वर्षको सुरुआतमा कर बढाएर तनाव चुलिएपछि वासिङ्टन र बेइजिङले लेवी घटाउने अस्थायी सम्झौता गरेका थिए । सम्झौता नोभेम्बरमा समाप्त हुँदैछ । हाल अमेरिकाले चिनियाँ सामानमा ३० प्रतिशत र चीनले अमेरिकी सामानमा १० प्रतिशत भन्सार शुल्क लगाएका छन् ।
-कूटनीतिक पृष्ठभूमि-
सीले हालै रुस र भारतका नेतासँग शिखर सम्मेलन आयोजना गर्नु भएको थियो र उत्तर कोरियाली नेता किम जोङ उनलाई सैन्य परेडमा आमन्त्रित गर्नु भएको थियो । ट्रम्पले आफ्नो ट्रुथ सोसलमा सीलाई सम्बोधन गर्दै ‘कृपया पुटिन र किमलाई मेरो सम्मान दिनुहोस् किनकि तपाईले अमेरिकाविरुद्ध षड्यन्त्र गर्नुभयो’ भन्नुभएको थियो ।
साथै, उहाँले भारतलाई रुसी तेल खरिद गरेकामा आलोचना गर्दै दण्डात्मक भन्सार शुल्क लगाएको बताउनुभयो । बेइजिङलाई अमेरिकाले प्रत्यक्ष प्रतिबन्ध नलगाए पनि ट्रम्पले युरोपेली मुलुकलाई चीनमाथि दबाब दिन आह्वान गर्नुभयो । “यदि चीनमाथि यस्तो दबाब परेको अवस्थामा युक्रेन युद्ध अन्त्य हुन सक्छ”, उहाँले फक्स न्युजसँग भन्नुभयो । रासस/एएफपी