• ३ असोज २०८२, शुक्रबार

धरानको नगरसभा शनिबार

blog

निशा राई 

धरान, असोज ३ गते। धरान उपमहानगरपालिकाको १७ औँ नगर सभा शनिबार हुने भएको छ। 

पटक–पटकको रस्साकस्सीका कारण बसेको कार्यपालिका बैठकले धरानको नगरसभा शनिबार धरान उपमहानगरपालिकाको परिसरमा गर्ने निणर्य गरेको हो। कार्यपालिका बैठकबाट चालु आर्थिक बर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेट पास गरेको छ। 

बैठकमा स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिले निर्धारण गरेको चालु आर्थिक वर्षको लागि दुई अर्ब २० करोड ७४ लाख ५९ हजार बजेट सर्वसम्मत पारित भएको छ। यसअघि भदौ २६ मा नगरसभा गर्ने निर्णय भए पनि जेनजी आन्दोलनको क्रममा धरानमा भएको तोडफोड, आगजनी र लुटपाटको घटनाले नगरसभा अन्योल बनेको थियो।

बैठकमा नगर प्रमुख हर्कराज राईले बाँकी रहेको नौ एजेण्डा प्रस्तुत गर्नुभएको थियो। बैठकमा नीति तथा कार्यक्रम संशोधनसँगै राजश्व पुनरावलोकन, बसपार्क सञ्चालन, प्रतिवेदन, सडक उपयोग सेवा शुल्कको ठेक्का, दररेट लगायतका बाँकी रहेका एजेण्डा पारित भएको छ। 

नगर प्रमुख राईले विपद् कोषमा छुट्याएको तीन करोडबाट फोहोर मैला उठाउनका लागि मिनि टिपर किन्नको लागि एक करोड छुट्टाउन राखेको प्रस्ताव पनि कार्यपालिकाबाट सर्वसम्मत पारित भएको छ।

त्यस्तै भाद्र २३ र २४ गतेको जेन–जी आन्दोलनको क्रममा शहादत प्राप्त गरेका साजन मेवाहाङ्ग राईका छोराको पठन पाठनका लागि राहत स्वरुप उनीहरुको नाममा खाता खोली ५ लाख रुपियाँ सहयोग गर्ने निणर्य गरिएको छ। त्यस्तै अतुलनीय संकटको बेला धरान १० स्थित पुतली लाइनमा रहको भाटभटेनीमा जेनजी आन्दोलनको क्रममा अराजक समूहले लगाएको आगो नियन्त्रणमा ल्याउन दिन रात खटेर सहयोग गर्ने धरानका वरुण यन्त्रका नगर प्रहरीलाई पनि सम्मान गर्ने निर्णय भएको छ।